झापाका २ स्थानीय तहमा लकडाउन

रासस
श्रावण १८, २०७७
Coronavirus_green

साउन १८, झापामा कोरोना सङ्क्रमित बढेका कारण दुईवटा स्थानीय तहले लकडाउन (लकडाउन) गरेका छन् । समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएको भन्दै अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले लकडाउन गरेका हुन् । अर्जुनधारा नगरपालिकाले आइतबार बिहानदेखि ५ दिनका लागि लकडाउन गरेको छ भने बिर्तामोड नगरपालिकाले अनिश्चितकालका लागि लकडाउन गरेको हो ।

बिर्तामोड नगरपालिकाले आइतबार अपराह्न नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै आइतबार राति १२ बजेदेखि अर्काे सूचना नभएसम्मका लागि लकडाउनको घोषणा गरेको हो । कोरोना परीक्षण गर्नुपूर्व बाह्रदशी र इलामका कोरोना सङ्क्रमितहरु बिर्तामोडमा खुलेआम हिडडुल गरेको र उनीहरुको सम्पर्कमा आएकालाई कोरोना सङ्क्रमणको उच्च जोखिम रहेकाले बिर्तामोडलाई लकडाउन गरिएको नगरपालिकाले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

कोरोना सङ्क्रमितको सम्पर्कमा आएका बिर्तामोडका १ सय १६ जना यतिबेला होम क्वारेन्टिनमा छन् । होम क्वारेन्टिनमा बस्नेहरु केही राजनीतिकर्मीहरु पनि रहेका छन् । कोरोना सङ्क्रमित बाह्रदशी गाउँपालिकाका नेपाल कम्युनिष्ट पार्टीका नेता र सोही ठाउँका स्वास्थ्यकर्मी एवं औषधि व्यवसायीको सम्पर्कमा आएका बिर्तामोडका ६८ जनालाई कन्ट्याक्ट ट्रेसिङ गरी होम क्वारेन्टिनमा राखिएको हो ।

त्यस्तै इलामका सङ्क्रमितको सम्पर्कमा आएका ४८ जनालाई कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ । सङ्क्रमितहरु आएपछि सम्भावित सङ्क्रमणको जोखिममा परेको बिर्तामोडमा पहिलोपटक ठूलो मात्रामा कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । बाह्रदशीका दुईजना सङ्क्रमितको सम्पर्कमा आएका ६८ र इलामका सङ्क्रमितको सम्पर्कमा आएका ४८ र अन्य गरी जम्मा १३३ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले जानकारी दिए ।
उता बाह्रदशी गाउँपालिकाले वडा १, २ र ३ मा गरिएको लकडाउन आइतबारदेखि खुलाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width