इदमा कोरोेना प्रभाव: घरघरमै नमाज पढिदै

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७७
rishi

पोखरा । पोखरा–१३ मियाँपाटनका ६८ वर्षीय अब्दुल रहिम शनिबार बिहानैदेखि व्यस्त थिए । उनको व्यस्तता दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) कसरी हर्षोल्लासपूर्वक मनाउन सकिन्छ भन्नेमा नै थियो ।

मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) शनिबारदेखि शुरु भएको छ । यो पर्व ४ दिनसम्म मनाइने गरिन्छ । अघिल्ला वर्षहरुमा पोखरा–१३, मियाँपाटनस्थित मस्जिद पुगेर सामूहिक नमाज पढ्नेको भीड नै लाग्थ्यो तर अहिले कोरोना संक्रमणका कारण मस्जिदमा नमाज पढ्नेको संख्या १२÷१५ जना मात्रा सीमित बन्यो । मियाँपाटनमा ५/७ हजारको संख्यामा मुस्लिम समुदायका सदस्य बसोबास गर्दछन् ।

यतिखेर विश्वभर कोरोना फैलिएकै कारण अघिल्लो वर्षहरुको जस्तो सबै जना मस्जिद र इदगाहमा गई सामूहिक नमाज पढ्न नपाएपनि घरघरमा पढ्ने गरिएको जानकारी अली मियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष एवं मुस्लिम अगुवा हनिफ मियाँले बताए । यस्तै, बकर इद पर्वमा सरकारले बिदा दिनुपर्ने माग पोखराका मुस्लिमहरुको छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने गरिन्छ । बकर इदका दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि आपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । बकर इदको दिन मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगले शुक्रबार नै विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेको थियो ।

हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिइ निरन्तरता दिएको उनले बताए । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूवर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए । मक्कामा जन्मिएका सलल्ला ५३ वर्षको उमेरपछि मदिना सरेका थिए ।

‘यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ,’ अर्का वृद्ध हाजी याकुवदिन मियाँले बताए । यस पर्वमा मक्कामदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानसमेत बन्द हुन गयो । जसका कारण हजयात्री मक्का मदिना जान पाएका छैनन् ।

मक्का मदिना जान नपाएका हजयात्रीले समेत घर घरमै बकर इद मनाउने छन् । मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा पनि भौतिक दूरी कायम गरेर बकर इद मनाउने गरिन्छ । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् ।

धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग(जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पोखराका मुस्लिम अगुवा ८३ वर्षीय इज्जल अलिले बताए ।

निःसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्त मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको मान्यता छ ।

उनले धेरै जनावर कुर्बानी गरे तर अल्लाह खुसी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जनन्तमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ ।
…………..
पोखरा–१३ मियाँपाटनस्थित मस्जिदमा बकर इद पर्वको दिन शनिबार नमाज पढ्दै मुस्लिम समुदायका सदस्य ।

Related News

सम्बन्धित समाचार

hero news full width