म्याग्दी | मालिका–७, बिमका इन्द्रबहादुर केसी अचेल दैनिकजसो पहिरोले पुरिएको ठाउँ धाइरहन्छन् । करिब २ हप्ता बितिसके । तर आफ्नी ठूलो छोरी एलिसालाई भेटाउन सकिरहेका छैनन् ।
गत असार २५ गते मध्यराति घरमाथिबाट खसेको पहिरोले केसीको छोरीसँगै सर्वस्व खोसिदिएको छ । उमेरले भर्खर १७ वर्ष लागेकी एलिसा एसइई परीक्षा स्थगित भएपछि घरमै बसेकी थिइन् । कहालीलाग्दो त्यो रात घरमाथिबाट पहिरो खसेको थाहा पाएपछि केसीका परिवार छिमेकीसँगै भाग्न थाले ।
‘भाइबहिनीलाई पहिरोबाट बचाएर कपडा लिन जान खोज्दा ठूली छोरीलाई पहिरोले बगायो,’ भक्कानिँदै इन्द्रबहादुरले घटना सम्झदै भने । छोरीको अनुहार देख्ने झिनो आश छ, उनमा ।
‘छोरी लग्यो, भैँसीगोठ बगायो, घरखेत बगायो । मेरो सपना बगायो । र, सुकुम्वासी बनायो,’ भावुक हुँदै केसीले भने । यतिखेर केसीको परिवारलाई उद्धार गरी वडा कार्यालय तथा स्थानीय युवा क्लबको सहयोगमा बिम गाउँमा आफन्तको घरमा राखिएको छ ।
पहिरोले उठिवास लगाएपछि उनीसँग न बस्ने बास छ । न ओड्ने राम्रो लत्ताकपडा । विभिन्न संघसंस्थाले बाँडेको राहत नाममा केही नुन, तेल र चामल छ । उनले राहत तथा पुनर्वास व्यवस्था गरी पुनस्र्थापना गरिदिन सरकारलाई आग्रह गरेका छन् । वडा अध्यक्ष रेशम जुग्जालीले बिम सहित प्रवासमा रहेका म्याग्दीलीहरुको सहयोगमा पुनर्वास निर्माणका लागि छलफल भइरहेको जानकारी दिए ।
धवलागिरी गाउँपालिका–६, मराङ नामरुङ्गकी सविना बिक सुत्केरी भएको ५ दिन पुगेको थियो । श्रीमान्सँगै बेलुकाको खान खाँदै थिइन् । बाहिर घनघोर पानी वर्षेको थियो । तर अकस्मात् एकैछिनमा गाउँमाथिबाट पहिरो खस्न थाल्यो । छिनभरमै पहिरोले घर घेरियो । ‘खाना खाँदै गरेको भाग छाडेर भाग्यौं, श्रीमान्ले ५ दिनको बच्चा र मैले अर्को छोरी समाएर भाग्यौं,’ बिकले सो रातको घटना सम्झिइन् ।
सुत्केरी सविना त्यो दिन रातभर पानीमा भिजेर बसिन् । बच्चा पनि भिज्यो । सविनाले रुदै भनिन्, ‘हामी सातजनाको परिवारले भोकै रात काट्यौं ।’ असार २६ गते बिहान गाउँपालिका अध्यक्षलाई फोन गर्यौं। हेलिकोप्टर आउँछ भने पनि मौसम नखुलेकोले आउन सकेन भन्ने जवाफ दिए । दिनभर भोकभोकै बस्यौ ।’
सो दिन बेलुका छिमेकीको घरमा पुगेर खान खायौं, उनले भनिन्, ‘आफ्नोभन्दा पनि बच्चाको माया लाग्दो रहेछ ।’ उनका श्रीमान्ले भने, ‘बल्लतल्ल ज्यान जोगियो ।’ अब खानेबस्ने ठाउँ छैन । सरकारले हेरे हुने ।’
सविनासँगै २ महिनाकी सुत्केरी हरिमाया बिक र ३ महिनाकी गिरु बिकलाई राम्चेको दलित सामुदायिक भवनमा राखिएको छ । उनीहरुले पेटभरी खान पाएका छैनन् । सुत्केरीलाई पौष्टिक आहार आवश्यक पर्दछ तर पेटभर खान खाद्यान्न छैन ।
‘खाद्यान्न सकिएको छ । लत्ताकपडा अभाव छ । बच्चालाई न्यानो कपडा लगाउन पाएकी छैन,’ हरिमाया विकले भनिन्, ‘चिसोका कारण बच्चा बिरामी हुन थालेको छ ।’ उनलाई बच्चा कसरी जोगाउने चिन्ता छ ।
उनीहरुको लागि संकलित राहत जिल्ला सदरमुकाम थन्किएको छ । मराङ पुग्न सडक पुरै बन्द छ । पैदल हिड्ने बाटो समेत छैन । जोखिम मोलेर पहिरोको यात्रा गर्नुपर्दछ । दुई हप्ता बितिसक्दा पनि सामान्य पैदल हिड्न बाटो बनाइएको छैन । आदर्श समाजसँगको कुराकानीमा सुत्केरी महिलाहरुले आफूले पेटभरी खान समेत नपाएको बताएपछि सँगै पुगेका ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनले तत्काल हेलिकप्टर मार्फत दरङबाट ९ बोरा चामल र ४ प्याक तोरीका तेल झिकाएर वडासदस्य तीलकुमारी केसीलाई हस्तान्तरण गरे ।
यसैबीच, म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा खानेपानी र विद्युत् समस्या देखिएको छ । जिल्लाका पहिरोले बढी क्षति पुर्याएको बिम, मराङ, ताकम, देविस्थान लगायत क्षेत्रमा पिउनेपानी र विद्युत् अभाव भएको हो । पहिरोले ग्रामीण सडक ठप्प छन् । केन्द्रीय प्रसारण लाइनको पहुँच पुगेको ठाउँमा विभिन्न ठाउँमा गएको पहिरोको कारण पोल ढलेर विद्युत् अबरुद्ध भएको छ ।
बिजुली र खानेपानीको अभाव हुँदा पहिरो प्रभावित क्षेत्रका पीडित परिवार समस्यामा परेका छन् । पहिरोले खानेपानीको मुहानसहित ट्याङ्की बगाएपछि खानेपानी अभाव भएको मालिका गाउँपालिका–७ का वडाध्यक्ष रेशम जुग्जालीले बताए ।
‘हाम्रो क्षमताले भ्याएन’
म्यागदी पहिरोमा धेरैले ज्यान गुमाए । केही घाइते उपचारपछि घर फर्किएका छन् । बाढीपहिरोमा परेर अझै ५ जना बेपत्ता छन् ।
पहिरोले म्याग्दीमा ठूलो धनजनको क्षति पुर्याएको लामो समय बितिसक्दा पनि पहिरो प्रभावित क्षेत्रमा राहत व्यवस्थापन तथा पुनर्वास निर्माणमा प्रदेश र संघीय सरकार उदासीन बनेको पहिरो प्रभावित क्षेत्रका बासिन्दाहरुको गुनासो छ । साथै उनीहरुले क्षतिपूर्तिवापत पाउनुपर्ने राहत पनि नपाएको बताउँछन् ।
‘गाउँपालिकाको क्षमता अनुसार गरेका छौ,’ धवलागिरि गाउँकार्यपालिका सदस्य तिलकुमारी केसीले भनिन्,‘गाउँभरी पहिरो गएको छ । पहिराले सबै सखाप पारेको छ । मराङवासीहरु पीडा र दुःखमा छन् । आँखाबाट आशु बगिरहेको छ तर दुःखमा साथ दिन कोही आएका छैनन् ।’
केसीले भनिन्, ‘मराङवासीहरुको पीडामा मल्हम लगाउन हामीले सकिरहेका छैनौं । हाम्रो क्षमता पनि छैन ।’
यता, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले भने, ‘गाउँपालिकाको क्षमता अनुसार गरेका छौं । पर्याप्त जनशक्ति तथा स्रोतसाधन भएको प्रदेश र संघीय सरकारले पीडितको राहत व्यवस्थापन, राहत तथा पुनर्वास लगायत पुनस्र्थापनाबारे ठोस योजना नल्याइदिँदा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अलमल परेका छौं ।’
धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनमगरले पनि प्रदेश सरकारले पहिलो चरणमा हेलिकोप्टरमार्फत राहत सामग्री वितरण गरेपछि कुनै सहयोग नपाएको बताइन् । ‘पीडित परिवारलाई दीर्घकालीन व्यवस्थापनका लागि समन्वय भइरहे पनि कुनै ठोस आउन सकिरहेको छैन,’ उनले भनिन् ।
पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई क्रिया खर्च बापत १० हजार रुपैयाँ उपलब्ध गराएको उनले जानकारी दिइन् । १० लाख रुपैयाँ बढीको राहत सामग्री वितरण गरेका नेपाली काँग्रेस, म्याग्दीका खमबहादुर गर्बुजा खम्बिरले विपद्मा प्रदेश र संघीय सरकार रमिते बनेको आरोप लगाए ।
Related News
सम्बन्धित समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
किरिया बसेका दाजुभाइ परीक्षामा
सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
बजेट अभावमा नगर अस्पतालको काम रोकियो
hero news full width
मुख्य समाचार
एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी
चैत्र १४, २०८०तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
चैत्र १४, २०८०बाँदरसँग आजित किसानले गुहारे कानुन मन्त्री, भन्छन् : बाँदर मार्ने कानुन बनाइदेउ
चैत्र १४, २०८०एमाले कास्कीमा नयाँ नेतृत्वका लागि मतदान
चैत्र १३, २०८०कास्की कारागारमा आँखा शिविर, १ सय ८८ जनाको आँखा परीक्षण
चैत्र १३, २०८०