पोखरा विश्वविद्यालय नेतृत्वविहीन, विद्यार्थीको तेस्रो चरणको आन्दोलनमा

ऋषिराम बराल
श्रावण १७, २०७७
pu

पोखरा, १७ साउन । लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रार नियुक्तिको माग गर्दै पोखरा विश्वविद्यालय (पियू) का विद्यार्थीले तेस्रोे चरणको आन्दोलनमा सुरु गरेका छन् ।

विश्वविद्यालय नेतृत्वविहीन भएको ३ महिना पुगेपछि उनीहरुले तत्काल उपकुलपति र रजिष्ट्रार नियुक्तिको माग गर्दै चरणवद्ध रुपमा आन्दोलन गर्दै आएका छन् ।

शुक्रबार विश्वविद्यालयका विद्यार्थीले चिप्लेढुंगास्थित मानवअधिकार चोकमा दबाबमूलक कार्यक्रम गर्दै उपकुलपति, रजिष्ट्रार लगायतका पद पूर्णकालीन नियुक्ति हुनुपर्ने भन्दै दबाब दिए । उनीहरुले विभिन्न नाराअंकित प्लेकार्ड बोकेका थिए ।

विश्वविद्यालय नेतृत्वविहीन हुँदा करिब ४० हजार विद्यार्थीको भविष्य अन्यौलमा परेकोले तत्काल नियुक्ति माग गर्दै आफूहरु आन्दोलनमा उत्रनुपरेको विद्यार्थी अर्जुन पराजुलीले बताए ।

विश्वविद्यालयमा हाल उपकुलपति, रजिष्टार, परीक्षा नियन्त्रक, डीन र निर्देशक गरी प्रमुख ५ वटै पदहरु खाली छन् । उपकुलपति र रजिष्टारलाई कार्यबाहक दिइए पनि हाल उनीहरु समेत सेवा अवधि टुंगिएर बिदाइ भएका छन् । विद्यार्थीले पूर्णकालीन नेतृत्व लिन सक्ने ती पदमा तुरुन्त नियुक्तिको माग गरिएको हो ।

‘विश्वविद्यालयअन्तर्गत आङ्गिक र सम्बन्धनप्राप्त कलेजहरु ५८ वटा छन् । ती कलेजहरुमा ४० हजार विद्यार्थी अध्ययनरत छन् । तर विश्वविद्यालयका पदाधिकारी नहुँदा विश्वविद्यालय कुनै योजना लिएर अगाडि बढ्न सकेको छैन,’ सिभिल इञ्जिनियरिङ चौथो वर्षका विद्यार्थी माधव बास्तोलाले बताए ।

यस्तै, उपकुलपति लगायतका पदाधिकारी नियुक्त नहुँदा शिक्षक कर्मचारीले समेत तलब खान पाएका छैनन् । पदाधिकारी नियुक्तिको माग राख्दै विश्वविद्यालयका विद्यार्थीले साउन २ देखि चरुणवद्धरुपमा आन्दोलन गर्दै आएका हुन् । पदाधिकारी नियुक्तका लागि विभिन्न विद्यार्थी संगठन र प्राध्यापकहरुले समेत दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।

पोखराको लेखनाथस्थित ढुंगेपाटनमा केन्द्रीय कार्यालय रहेको पोखरा विश्वविद्यालयमा हाल स्कूल अफ इञ्जिनियरिङ, स्कूल अफ बिजनेस, स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्स, स्कूल अफ सोसल डेभलपमेन्ट गरी ४ संकायमा पढाइ हुन्छ ।

उनीहरुले यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिनुका साथै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । साथै उनीहरुले सुरुवातमा विश्वविद्यालयमा धर्ना दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width