फोहोर मोहोर बनाउने अभियानमा महानगर

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७७
pokhara office photo

पोखरा | ‘छुट्याऔं फोहोर, बनाऔं मोहर’ नाराका साथ पोखरा महानगरपालिकाले नगरभित्र उत्पादन हुने फोहोर घरघरमै वर्गीकरण तथा व्यवस्थापन गर्ने अभियान सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा महानगरका १० वटा वडामा संचालन गरिने सो अभियान प्रभावकारी बनाउन सुझाव संकलन थालिएको छ । सोको लागि मेयर मानबहादुर जिसीको संयोजकत्वमा सरोकारवाला र सम्बन्धित क्षेत्र समेटेर १ सय ४८ सदस्यीय मूल समिति गठन गरिएको छ ।
महानगरका अनुसार पहिलो चरणमा वडा १, ५, ८, १०, १३, १६, १७, १९, २६ र २७ मा अभियान सञ्चालन गरिने भएको हो ।

सुझाव संकलन अन्तक्र्रिया एवं बैठकमा बोल्दै मेयर जिसीले घरमा उत्पादन हुने फोहोर ३ प्रकारले वर्गीकरण गरी संकलन गरेर व्यवस्थापनमा अभिप्रेरित गर्ने अभियानको उद्देश्य रहेको बताए । उनले कुहिने फोहोर कम्पोस्ट मल तथा इनर्जी निकाल्न प्रेरित गर्दै कौसीखेती वा करेसाबारीमा सदुपयोग गर्न अभियानले सघाउने बताए । पुनः प्रयोग हुने फोहोरलाई बिक्री गरी आम्दानी गर्ने र फाल्नै पर्ने फोहोर छुट्टै संकलन गरी महानगरले व्यवस्था गरे अनुसार बिर्सजन गर्न अभियानले प्रोत्साहन गर्ने बताए ।

कार्यक्रमबीच फोहोर वर्गीकरण मापदण्ड तयार गरी स्वीकृत गर्ने, घरघरमा ३ प्रकारका फोहोरको वर्गीकरण गर्ने, हाल सञ्चालनमा रहेका संकलन प्रक्रिया यथास्थितिमा नै आगामी ४ महिनासम्म निरन्तरता दिने, ४ महिनाभित्रमा फोहोर मैला व्यवस्थापन, मूल्य लगायतका मापदण्ड निर्माण गरी स्वकृतिको लागि महानगरमा सिफारिस गर्ने निर्णय गरिएको छ ।

अभियानलाई क्रमशः सबै वडामा विस्तार गर्ने र वडा अध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा मूल समिति र सचिवालय समिति गठन गरी फोहोर मैला व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकले २५ सदस्यीय सचिवालय गठन गरेको मूल समितिका सहसंयोजक तथा महानगर कार्यपालिका सदस्य राधिका साही योगीले जानकारी दिइन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले सबैको साथ, सहयोग र सुझावलाई समेटेर अभियान अगाडि बढाइने बताए ।

बैठकमा दलका प्रतिनिधिहरुले अभियानको समर्थन गर्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेकपा कास्कीका अध्यक्ष तथा गण्डी प्रदेश सांसद कृष्ण थापाले भाषण गरेमात्र पोखरा सफा नहुने र काम नै गर्नुपर्ने भन्दै विशेषगरी महानगरकै जनप्रतिनिधि खटिनुपर्ने बताए ।

काँग्रेसका सचेतक एवं पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले पोखराको फोहोर व्यवस्थापन गर्न महानगरले ल्याएको अभियानमा समर्थन जनाउँदै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

राप्रपा कास्की कावा अध्यक्ष गणेशबहादुर ढकालले फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्ने अभियानमा सान्दर्भिक भएको बताए ।

सहरी योजना आयोगका सदस्य सरोज कोइरालाले कार्यपत्र प्रस्तुत गर्दै पोखरामा दैनिक १ सय ८२ टन फोहोर उत्पादन हुने गरेको बताए । उनका अनुसार फोहोरमध्ये ८० प्रतिशत घरयासी फोहोर नै उत्पादन हुने गरेको छ । कोइरालाले पोखराको क्षेत्र ठूलो भएकाले भेग हेरेर तीन ठाउँमा ल्यान्डफिल साइट निर्माण गर्नुपर्ने अध्ययनले देखाएको बताए ।

महानगरका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले कार्यपत्र प्रस्तुत गर्दै महानगरका करिब १ लाख ५० हजार घरमा कौसीखेती गर्दा मासिक करिब ५० करोडसम्मको तरकारी फलाउन सकिने बताए ।

पोखरा महानगरपालिका सरसफाइ शाखाका प्रमुख तथा मूल समिति सदस्यसचिव कल्पना बरालले हाल महानगरबाट फोहोर व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width