ताल जोगाउने ड्याम पहिरियो

प्रकाश ढकाल
श्रावण १६, २०७७
fewa dam

पोखरा । लगातार प्राकृतिक अतिक्रमण बढ्न थालेपछि पोखरा महानगरपालिकाले प्रदेश सरकारको सहयोगमा तालमा मिसिने ४ वटा ठूला खोलाको तिरमा ड्याम बनायो । ढुंगा, माटो तालमा पस्नु अघि नै रोक्ने उद्देश्यले निर्माण गरिएको ड्याम पहिरिन थालेको छ । अँधेरी खोलामा बनाइएको सिल्ट्रेसन ड्याम २० मिटर भत्किएको छ ।

पानीको बहाव बढेको र ड्यामको गुणस्तर राम्रो नभएको कारण भत्किएको २३ नम्बरका वडाध्यक्ष विष्णु पराजुली बताउँछन् । ‘यसमा इञ्जिनियरको पनि केही गल्ती देखिन्छ । ठेकेदारले पनि लापरबाही गरेको छ । आँखा छलेर बालुवा र ढुंगामात्रै वालमा भरेको भेटियो,’ उनले भने, ‘बेलैमा मेयर’सावको ध्यानाकर्षण गराएका थियौं । वहाँहरुको भित्रको कुरा के हो थाहा छैन । तर यो भत्किने आँकलन पहिले नै थियो ।’ पहिले पनि केही स्थानीय र जनप्रतिनिधि महानगरपालिकामा डेलिगेसन समेत आएका थिए ।

फेवातालको जलाधार क्षेत्रबाट वर्षेनी ढुंगा र माटो सहितको लेदो बगेर तालमा मिसिँदा तालको आकार साँघुरो बन्दै गएको छ । ताल संरक्षणका लागि सर्वोच्च अदालतले तीन वटै सरकारका नाममा छुट्टाछुट्टै आदेश जारी गरेको छ । सोही आदेशपछि पोखरा महानगरपालिकाले सरसफाइ र संरक्षण गर्न सिल्ट्रेसन ड्याम बनाएको हो । ३४ करोड लागतमा निर्माण गरिएको ४ वटा ड्याममा १७ करोड प्रदेश सरकारको छ भने बाँकी पोखरा महानगरपालिकाको लगानी छ । तर ड्याम निर्माणको २ महिना नबित्दै भत्किन थालेपछि सरोकारवालाले निर्माण गुणस्तरको विरोध गरेका छन् ।

‘ढुंगा र बालुवाले मात्रै वाल चिनेर यो समस्या आएको हो । सिमेन्टको मात्रा नै थिएन,’ स्थानीय जनप्रतिनिधि भरत भण्डारीले भने, ‘उबेलाभन्दा सुनुवाइ भएन । अहिले त्यही ड्याम भत्किन थाल्यो ।’ उपयुक्त अनुगमन नहुँदा ठेकेदारले गुणस्तरहिन काम गरेको उनको भनाइ छ । पानी खस्ने ठाउँमा सानो भुवान पनि परेको उनले बताए । त्यसकै कारण थप क्षति हुन सक्ने अवस्था छ ।

यो खोलामा ड्याम निर्माणको ठेक्का खड्का कृष्ण पीके जेभीले पाएको थियो । यो ड्याम सबैभन्दा ठूलो प्याकेज हो । ९ करोड ६ लाखमा ड्याम बनाइएको थियो । सम्झौता अनुसार यही वर्षको पुस मसान्तसम्म ड्याम हस्तान्तरण गर्ने अवधि छ । मेयर मानबहादुर जिसीले ठेकेदारबाट महानगरमा ड्याम हस्तान्तरण नभएकोले बिग्रिएको क्षति ठेकेदारले नै ब्यहोर्ने बताए । ‘हस्तान्तरण भैसकेको छैन । केही लेवल मिलेको थिएन । मैले उतिबेलै काट्न निर्देशन पनि दिएको थिएँ,’ उनले भने, ‘समयमा नकाटेका कारण झरेको हो । अब बिग्रिएको बनाउने काम ठेकेदारकै हो । नोक्सानी उसैले ब्यहोर्छ ।’

महानगरले अँधेरी सहित बेतेइनी, लौरुक र हर्पन खोलामा पनि ड्याम बनाएको छ । श्री गीता जयनेपाल ईश्वर जेभीले ठेक्का पाएको बेतेइनीमा ५ करोड ४६ लाख लागत लागेको छ भने लौरुकमा ५ करोड ७५ लाख, हर्पनका लागि ७ करोड ८८ लाखमा सम्झौता भएको थियो । तीनवटै प्याकेज खड्का कृष्ण जेभीले पाएको हो । २०१८ सालमा १० वर्ग किलोमिटरमा फैलिएको फेवाताल २०६४ सालमा आइपुग्दा ४ दशमलव २० वर्ग किलोमिटरमा खुम्चिएको तथ्यांक छ । मेयर जिसीले तत्काल इञ्जिनियर खटाएर गुणस्तर मापन गर्ने बताए । ड्याम फुटेको थाहा पाएपछि मेयरको नेतृत्वमा कार्यपालिका सदस्यहरुले स्थलगत अनुगमन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width