राप्रपाले पायो आईडियूको सदस्यता

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७७
20200729_193625

राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्वर्ध्दनवादी राजनीतिक दलहरुको छाता संगठन “इन्टरनेशनल डेमोक्राटिक युनियन” को सदस्यता प्राप्त गरेको छ ।

युनियन कार्य समितिको भर्चुअल बैठकले सदस्यता दिने निर्णय गरेको हो ।
क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफन हार्परको अध्यक्षतामा बसेको बैठकमा राप्रपालाई सदस्यता दिने प्रस्ताव अष्ट्रेलियाका सत्तारुढ दल लिवरल पार्टी अफ अष्ट्रेलियाले गरेको थियो भने माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नसिरले स्वागत र समर्थन गरेका थिए ।
नसिरले दक्षिण एशियाली मुलुकबाट थप सदस्य भएकोमा खुसी समेत व्यक्त गरेका थिए ।

विश्वका ७६ कन्जरभेटिभ राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको बैठकमा राप्रपा अध्यक्ष कमल थापा सहभागी थिए ।
बैठकमा बोल्दै अध्यक्ष थापाले संसारका सवै मुलुकहरुको आर्थिक विकास, शान्ति र स्वतन्त्रतामा विश्वास राख्दै प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकारका क्षेत्रमा थप चुनौतिहरु देखा परेको चर्चा सहित सम्बद्र्धनवादी पार्टीहरुको एकता र सहकार्यको आवश्यकता झन् बढेर गएको बताए ।
थापाले उदाउँदो प्रजातन्त्रलाई सहयोग गर्दै थप मजबुत र सुदृढ तुल्याउन आईडियुको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । युनियनको मूल्य मान्यताप्रति राप्रपा प्रतिवद्ध रहेको भन्दै थापाले विश्वासका साथ सदस्यता प्रदान गरि सहकार्यको निम्ति अवसर प्रदान गरेकोमा युनियन र सम्बद्ध सबैलाई आभार व्यक्त गरे ।

संयुक्त राज्य अमेरिकाको वासिङ्गन डिसिमा आयोजना हुने बैठक कोभिड–१९ का कारण भर्चुअल बैठक गरिएको हो । बैठकले नेपाल सहित युक्रेन, स्वीडेन, अल्वानिया र नाइजेरियाका राजनीतिक दललाई सदस्यता प्रदान गरेको हो । युनियनको आगामी अन्तराष्ट्रिय सम्मेलनले यो निर्णयको अनुमोदन गर्दै राप्रपालाई पूर्ण सदस्यता प्राप्त हुने पार्टीका नेता राजाराम बर्तौलाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width