नेविसङ्घलले अझै पूर्णता पाएन

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७७
nebi sangh

काठमाडौँ, १५ साउन । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को तदर्थ समितिले छ महिना बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । विस २०७६ फागुन १ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले छ महिनाभित्र नेविसङ्घको १२ औँ महाधिवेशन सम्पन्न गर्ने गरी राजीव ढुङ्गानाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।

विसं २०७३ साउनमा सम्पन्न सङ्घको ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले १२ औँ निर्वाचन गर्न नसकेपछि विसं २०७५ माघमा राजीनामा दिएका थिए । उनको राजिनामासँगै सङ्घको विधानअनुसार ३२ वर्ष कम उमेरको व्यक्तिलाई अध्यक्ष बनाउने अथवा बढी उमेरकालाई बनाउने भन्ने विवाद जारी रहेको रह्यो । करिव १३ महिनापछि ३२ वर्ष बढी उमेरका ढुङ्गानाको अध्यक्षतामा नेविसङ्घ गठन भएको थियो ।

समितिमा हाल अध्यक्ष ढुङ्गाना, उपाध्यक्ष तुलसा पन्त र मुक्ति पौडेल, महामन्त्री दीपक भट्टराई, उर्मिला थपलिया, प्रभात दाहाल, मनोज वैद्य, महेश्वरी कुँवर, बलदेव तिमिल्सेना र युवराज पाण्डे छन् । सङ्घका पूर्व केन्द्रीय सदस्य लीलावल्लभ दाहाल ‘काका’ ले पार्टी नेतृत्व भ्रातृ संस्थाको समयमा अधिवेशन गरेर पार्टी चलायमान बनाउनुको साटो आन्तरिक झगडा र गुठगत भेलामा लागेको आरोप लगाएका छन् ।

सङ्घको ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले समयमा अधिवेशन गर्न नसक्दा अहिलेको अवस्था आएको उनको भनाइ छ । ‘पार्टीले विद्यार्थी हक र हितमा खट्ने इमान्दार विद्यार्थीलाई समावेश गरेर तत्काल तदर्थ समिति गठन गर्नुपर्छ’, उनले भने । सङ्घका पूर्व कोषाध्यक्ष शिव रिमाल मुलुकको लोकतन्त्र र शिक्षाका लागि लडेको विद्यार्थी सङ्गठन यो अवस्थामा आउनु दुःखद् भएको जानकारी दिनुहुन्छ । बाँकी कार्यसमिति तत्काल मनोनीत गरेर १२ औँ महाधिवेशनमा जानुपर्ने उनको भनाई छ ।

सङ्घका अध्यक्ष ढुङ्गाना कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीले विद्यालय तथा क्याम्पस बन्द हुँदा अधिवेशनका प्रक्रिया अगाडि बढाउन नसकेको बताउँछन् । संघ पूर्व कार्यसमितिका विभिन्न नेताले उपत्यका तथा जिल्लामा एकलौटी ढङ्गले निर्माण गरेको समिति पार्टीको केन्द्रीय कार्यसमितिले यसअघि नै विघटन गरिसकेको छ । महामन्त्री भट्टराई पार्टीले पूर्ण समिति नल्याएका कारण महाधिवेशन प्रक्रिया अगाडि बढाउन नसकेको हो भन्नुहुन्छ । समितिलाई पूर्णता दिएसँगै सङ्घलाई महाधिवेशन उन्मुख बनाउने उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width