विमानस्थलमा बाधा: सीमामै सामान, सुस्त काम

प्रकाश ढकाल
श्रावण १४, २०७७
pokhara international airport

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले धमाधम काम भैरहेको छ । तर सोचे अनुसार फटाफट छैन । कोरोनाका कारण चीनमै अड्किएका कामदार आइसकेका छैनन् । नेपाली कामदार पनि भर्ना भएका छैनन् । अहिलेसम्म तालिका अनुसार नै काम चलिरहेको छ । तर कोभिड–१९ असर कायम रहे निर्माण धकेलिन सक्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विनेश मुनंकर्मी बताउँछन् । ठ्याक्कै १ वर्षभित्र निर्माण सकेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता छ ।

विमानस्थल आगामी सन् २०२१ जुलाई १० सम्म सक्ने सम्झौता हो । तर समयसीमाभन्दा ६ महिनाअघि अर्थात् सन् २०२० डिसेम्बरभित्रै निर्माण प्रक्रिया सकी हस्तान्तरण गर्ने लक्ष्य कोरोनाकै कारण प्रभावित बनेको मुनंकर्मी बताउँछन् । ‘सहज अवस्था भए तोकिएकै समयमा काम सकिन्छ । नत्र अफ्ठ्यारो हुन्छ,’ मुनंकर्मी भन्छन्, ‘चीनबाट आउनुपर्ने सामान आएको छैन । कामदार पनि आइसकेका छैनन् । आयोजनामा कोभिडको असर थपिँदै छ ।’

दुई सयभन्दा बढी चिनियाँ कामदार अन्तर्राष्ट्रिय उडान नहुँदा उतै अड्किएका हुन् । सीमानाकामा निर्माणका सामग्री थन्किएका छन् । डेडलाइनभन्दा ६ महिना अघि सक्ने लक्ष्य लिइएको पोखरा एयरपोर्ट अब सम्झौता मितिमै सक्न पनि हम्मे पर्न थालिसकेको छ । चिनियाँहरु नयाँ वर्ष मनाउन आफ्नो देश गएका बेला कोरोना प्रभाव न्यूनीकरणको लागि सरकारले लकडाउन घोषणा ग¥यो । ‘सम्झौताको सेड्यूल चाहिँ अहिलेसम्म उही छ । पहिलेको लक्ष्य अनुसार काम भने हुन सकेन,’ उनले भने, ‘अहिलेसम्मको काम सम्झौता अनुसार नै छ ।’ बन्दाबन्दी अघि ३ सय नेपाली र साढे २ सय कामदारले काम गर्थे । अहिले नेपालीहरु १ सय जनामात्रै छन् । केही चिनियाँको पनि काम सकिएको छ । समयमै काम सक्न लकडाउन समयमा पनि आयोजनाको काम निरन्तर भएको थियो । ‘सरकारले चैत ११ मा लकडाउन ग¥यो । हामीले १० गतेदेखि नै आयोजनास्थलमा आउजाउ रोकेर काम गराएका हौं,’ आयोजना प्रमुख मुनंकर्मीले थपे, ‘तर अहिले समस्या बढ्न थाल्यो । कम्पनीले पीसीआरबिना कामदार ल्याउनै मान्दैन । पीसीआर व्यवस्था छैन ।’ कामदार आएपछि दुई सिफ्टमा काम लगाउने उनले सुनाए ।

सिभिल स्ट्रक्चरको सबैजसो काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल परिसरमा विभिन्न १४ वटा भवन बनाइएको छ । रन–वे पहिले नै सकिएको हो । पार्किङ र सडक निर्माण पनि अन्तिम अवस्थामा छ । विमानस्थलको ७५ प्रतिशत भौतिक प्रकृतिको छ भने बाँकी २५ प्रतिशत उपकरणमा आधारित हुन्छ । ‘स्ट्रक्चरको काम फिनिसिङको चरणमा छ । इक्युपमेन्ट जडान र इन्स्टलेसनमा अबको समय खर्च हुन्छ । केही सामान नाकामै छ, केही आयो,’ उनले भने, ‘भदौ १ पछि उडान चल्यो भने सबै कामदार आइपुग्छन् । त्यसपछि फटाफट काम हुन्छ ।’ हालसम्म निर्माणको ६२ प्रतिशत काम सकिएको छ । भ्याट बाहेक २२ अर्ब रुपैयाँ लागतमा चीनको सिएएमसीले २०१४ मा विमानस्थल निर्माणको जिम्मा लिएको हो । चीनकै एक्जिम बैंकले लागत रकम सहुलियत दरमा ऋणस्वरुप उपलब्ध गराउने छ । अहिलेसम्म १२ अर्ब हाराहारीमा खर्च भैसकेको आयोजनाले जनाएको छ । विमानस्थल बनेपछि बोइङ–७५७ र एयरबस–२१९ मोडलका ‘न्यारोबडी’ विमानको मात्रै उडान हुनेछ । विमानमा १ सय ६० देखि १ सय ९० यात्रु सयर गर्न सक्नेछन् ।

मुआब्जा वितरण बाँकी

विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहण गरिए पनि जग्गाधनीले अझै मुआब्जा बुझिसकेका छैनन् । २०३२ सालमा विमानस्थल निर्माणको परिकल्पना गरेर ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । अपुग भएपछि २०६९ सालमा थप ६ सय २९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । अघिल्लो वर्ष १ सय ४८ रोपनी जमिन थप अधिग्रहण भएको छ । जम्मा जमिनमध्ये ९७ प्रतिशत प्राप्त गरिसकेको विमानस्थलले जनाएको छ । अझै १ सय रोपनी जग्गा प्राप्ति भएको छैन । ‘अधिग्रहणको ९७ प्रतिशत काम सकियो । पहिले स्थानीयको विरोध थियो । अब त्यस्तो छैन,’ आयोजना प्रमुख मुनंकर्मीले थपे, ‘अन्तिम चरणको जग्गा अधिग्रहणमा ६० जनाको निवेदन आइसकेको छ । ६ महिनाभित्र अधिग्रहणको काम सकिन्छ ।’

२०२९ सालमा प्यासिफिक एशोसिएसन अफ ट्राभल एजेन्सी (पाटा) ले पोखराको पर्यटन विकासको गुरुयोजना तयार गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गरेको थियो । चिनियाँ कम्पनी सिएएमसी इञ्जिनियरिङले २०७४ असारदेखि विमानस्थलको काम सुरु गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width