पोखरा-काँडे गाडी नचल्दा यात्रु मर्कामा

श्रीभद्र पौडेल
श्रावण १४, २०७७
pokhara hemja kada gadi

फाइल फोटो ।

हेमजा, १४ साउन । सरकारको लकडाउन खुलाउने निर्णयसँगै छोटो दूरीका सवारीसाधन संचालनमा आउने भनिएपनि पोखरा–हेमजा–काँडे सार्वजनिक बस चलेका छैनन् । सार्वजनिक बस चल्न नसक्दा स्थानीयले सास्ती भोगेका छन्।
कतिपय स्थानीय लकडाउनमा जस्तै हिडेर गन्तव्यतर्फ जाने गरेका छन् भने कतिपय महँगो शुल्कमा ट्याक्सी रिजर्भ गरी गन्तव्यमा जानुपर्ने बाध्यता छ ।

बाटोको दूरावस्था रहेको भन्दै बस नचलेको बताइएको छ । हेमजा सुइँखेतस्थित अम्बिका माविदेखि घट्टेखोलासम्म बाटोकै कारण सवारी गुडाउने अवस्था नभएको ग १ ख ७०८७ नं. को बसका चालक दुर्गाकुमार गुरुङले बताए ।
उनले भने, ‘बाटो हिलाम्य छ । खाल्टाखुल्टीको त कुरै नगरौं । दिनदिनै गाडीको पट्टा भाँचिने सम्भावना छ । लकडाउनका कारण गाडीका पाटपुर्जा पनि बिग्रेका छन् ।’

सोही बसका सहचालक गोपाल गिरीले बाटो सहज भए आफूहरु काँडेसम्म जान तयार रहेको स्पष्ट पारे । ‘महिनामा १०÷१२ दिन काँडे जाने–आउने पालो पथ्र्यो । अहिले जान सक्ने अवस्था छैन ठाउँसम्म जान पाए पो कमाइ हुन्थ्यो,’ उनले भने ।

यता, अन्नपूर्ण गाउँपालिकावासी उक्त रुटमा गाडी चल्नुपर्नेमा जोड दिन्छन् । बिग्रेको बाटो तत्काल ठेकेदारले बनाइदिनुपर्दछ, सवारीधनीले पनि विभिन्न बहानावाजी बनाउनु हुँदैन । सर्वसाधारणलाई नागडाँडा–पोखरा आउजाउ गर्न अत्यन्तै कष्टकर भएको छ,’ अन्नपूर्ण–३, काँडेका गुरुदत्त भारती सुनाए ।

ठेकेदार शर्मा एण्ड कम्पनीका परियोजना व्यवस्थापक राजु रानाभाटले अविरल वर्षा, सडकबीच रहेका विद्युत्पोल र फाइपलाइन फुट्ने समस्याका कारण सडक निर्माणमा असहजता भइरहेको बताए । ‘वर्षायाम लक्षित गरी एक चरणमा बाटो सहज बनाएका थियौं, त्यो धेरै समयसम्म टिकेन,’ उनले भने ।

बाटो कारण देखाउँदै त्यस क्षेत्रमा साना सवारीसाधन भने पोखराबाट सराङ्कोट, कास्कीकोट, नागडाँडा हुँदै दैनिक आउजाउ गर्दै आएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width