केरुङ्गे खोलामा पुल सञ्चालनमा

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७७
pull k 4

नवलपरासी  । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–४ र ५ जोड्ने केरुङ्गे खोलाको पक्की पुल यसै वर्षादेखि संचालनमा आएको छ ।

एडभेन्चर कम्पनीले बनाएको १ सय २० मिटर लामो पुलको निर्माण चरणमै यहांका छिपछिपे, हसौरा, जुगेपानी र गिरुवारी सम्मका मानिसलाई आवत जावत गर्न सहज भएको हो ।

निर्माण कम्पनीले पुलको मुख्य काम सकिएको र सामान्य कामहरु मात्र बाँकी रहेको जनाई रहँदा स्थानीेयमा भने कम्पनीले काम अधुरै छोड्ने हो की भन्ने शंका उब्जिएको छ ।

कावासोती ५ का वडाध्यक्ष हरिप्रसाद बास्तोला स्थानीयलाई राखेर गरिएको डिपिआरमा पुलको दुवै छेउमा ५।५ सय मिटरको ड्याम बाध्नु पर्नेमा निर्माताले ५० मिटरको छेकबार लगाएको बताए ।

बर्षादमा ठूलो बाढी जाने यस खोलामा ५० मिटरको जालतारले थेग्न नसकी खोला पुल भन्दा बाहिरबाट छेउ लाग्न सक्ने हुदा निर्माण कम्पनी र नियमक निकायले बेलैमा ध्यान दिनु पर्ने बास्तोलाको भनाई छ ।

वडाध्यक्ष बास्तोलाले भने ११ मिटरको पुलमा दायां बायां साघुरो वालमा बाटो उठाउदा नमिल्दो देखिन्छ, जुन सुरक्षा सतर्कताका दृष्टिले पनि खतारापूर्ण रहेको छ ।

बर्षौ देखि केरुंगेको बहाव भोगेका स्थानीय बासिन्दाले खोलाको बाढीले धार परिवर्तन गर्दा करोडौंको लगानीमा बनेको पक्की पुलको दिगोपनामा चासो ब्यक्त गरेका छन् ।

यसै सम्वन्धमा सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनी निर्माणको काम सम्पन्न भई नसकेकोले स्थानीयको चिन्ता र चासोलाई सम्वोधन गरेर मात्र निर्माण कम्पनीको काम पुरा हुने बताए ।

हाल यस खोलामा चिलाहाको मुख र खयरघारी छेउ सडकको पहुच र पायकका हिसाबले समान प्रकृतिका थप २ पक्की पुल निर्माणको चरणमा रहेका छन् ।

कुनै बेला खोलामा एउटा पनि पुल नहुँदा वर्षा याममा खोला तर्ने क्रममा वर्षेनी जनधनको क्षति हुने गरेको कावासोतीका लेखनाथ बस्यालले बताए ।

यसै खोलामा निर्मित कोईलापानीको झोलुङगे पुलले कावासोतीको हात्तिखोर, पोखरीताल लगायत हुप्सेकोटका शंखदेव, कुटे, चारघरे सम्म माथिल्लो क्षेत्रका बासिन्दालाई सुविधा दिई रहेको छ ।

पूर्वी नवलपरासीको पहाडी तथा तराईका बासिन्दालाई सदरमुकाम कावासोती सम्म आउन र प्रशासनिक काम सकेर फर्कन पुलले सहजता थपेको शंखदेवका नरसिं कानुङले बताए ।

केही वर्ष अघिसम्म खोलामा पुल नहुँदा छुट्टै भूवनोटको लाग्ने हसौरा, छिपछिपे अहिले पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीसँगै समानान्तर विकासमा अघि बढेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width