मुस्ताङी गुम्बाको पोखरामा सहयोग

Avatar आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७७

पोखरा । लोमन्थाङको पाल ऐ हाम नामग्याल गुम्बा स्कुलले पोखरा १४ सुकुम्बासी बस्तीमा खाद्यान्न वितरण गरेको छ ।

गुम्बा स्कुलले विद्यालयको पठपाठनसँगै सामाजिक क्रियाकलापमा सहभागिता जनाउँदै आएकोमा यो वर्ष कोरोना कहरका कारण खाद्यान्न अभावमा बस्न बाध्य भएका ६० घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो ।

पोखरा १४ विजय वस्ती टोल, बेलचौतारा, रातोडाँडा, विजयपुर आनन्दटोल घट्टेकुलो, साधनामार्ग र नयाँवस्तीमा बसोबास गर्दै आएका भूमिहीन, ज्याला मजदुरी गर्ने विपन्न वर्गलाई सहयोग गरिएको हो ।

गुम्बा स्कुलका सल्लाहकार तथा प्रदेश सांसद इन्द्रधारा विष्टको सक्रियता तथा महिला मानवअधिकार रक्षक सञ्जाल कास्की अध्यक्ष तारामाया थापामगरको समन्वयमा सो खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

गुम्बा स्कुलले कोभिड १९ कोरोना रोकथामका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले स्थापना गरेको कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरिसकेको छ ।

साथै, वर्षाका कारण बाढीपहिरो जाँदा घरबास गुमाएका परिवारहरुलाई समेत खाद्यान्न सामाग्री वितरण गरिरहेको सांसद विष्टले बताए ।

उनका अनुसार गुम्बाले कोरोना र प्रकृति विपत्तिमा परेकालाई मात्र नभइ वृद्धाश्रम र शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि राहत दिँदै आएको छ ।

गुम्बा स्कुलका प्रअ ग्याचो लामाले आफूहरुको स्कुलले पहिरोपीडित, सुकुम्बासी तथा शारीरिक अशक्त भएका र वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई लक्षित गरी ५ सय परिवारलाई राहत वितरण गर्ने लक्ष्य रहेको र हालसम्म ४ सय घरपरिवारलाई सहयोग गरेको बताए ।

हिमाली जिल्ला मुस्ताङको लोमन्थाङ गाउँपालिका ३ मा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कुलले हिउँदमा पोखरा १८, खपौदीमा स्कुल सञ्चालन गर्दै आएको छ ।

हाम्रो सुझाव