मास्क बेच्दै ८ वर्षीय प्रेन्सा

Bijay Nepal विजय नेपाल
श्रावण ८, २०७७

पोखरा । उमेरले सानी तर प्रतिभा अनेक । पोखराकी प्रेन्सा रेग्मी उमेरले मात्र ८ वर्षकी भइन् । कक्षा ३ पढ्छिन् । उनको बहुप्रतिभा ४ महिना लामो लकडाउनमा निकै खुलेर आयो । विद्यालय जानबाट वञ्चित उनीजस्तै बालबालिका प्रेन्साको प्रस्तुति एवं सहयोगी भावबाट प्रेरित बने ।

तपाईँ पोखरा–१७, बिरौटा पुग्नुभयो भने प्रेन्सालाई मास्क बेचिरहेको भेट्नुहन्छ । उनले केही सातायता आफ्नो घर नजिकै चौतारोमा बसेर मास्क बेच्ने गरेकी हुन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई मास्क बेचेर बचेको पैसा उनले सामाजिक सेवामा लगाउँछिन् । सरकारले पनि यतिखेर अनिवार्य मास्क प्रयोगमा कडाइ गरेपछि मास्क कोरोनाबाट बच्न अनिवार्य साधन बनेको छ ।

आयआर्जन कमजोर रहेका परिवारका आफूजस्तै उमेरका साना भाइबहिनीको लागि उनले बचत रकम सहयोग गर्ने गरेको बताइन् । यी सानी बालिकाले भनिन्, ‘कोरोनाले धेरैजनालाई दुःख भएको छ । कति धेरैले आफूले चाहेको बेलामा खान पाउनुभएको छैन । कापीकलम किताब किन्न पाउनुभएको छैन । उहाँहरुलाई हेल्पको लागि मैले यस्तो काम गरेकी हुँ ।’

दह्रिलो आत्मविश्वास बोकेकी प्रेन्सा भन्छिन्, ‘काम गर्नु केको लाज ? चोर्नु–ढाँट्नु त भएन । सबैजनालाई सानोठूलो नभनी काम गरे देशको उन्नति हुन्छ ।’

उनका बाबुआमा बिरौटामै स्टेशनरी चलाउँछन् । अघिल्लो वर्षदेखि संचालन सुरु सो व्यवसायको नाम ‘नमस्ते पोखरा स्टेशनरी’ हो । बाबुको नाम रामकृष्ण र आमा जयन्ती हुन् । प्रेन्साका एकमात्र दाइ प्रोगेस हुन् ।

घरनजिकैको शिशु निकेतन स्कुलमा कक्षा ३ की विद्यार्थी प्रेन्सा पढाइमा पनि अब्बल छन् । सधैँ टप टेनभित्रै पर्छिन् । अतिरिक्त क्रियाकलाप गर्न भनेपछि हुरुक्कै हुने उनी विशेषगरी अभिनय गर्न रुचाउने गरेको शिक्षकको अनुभव छ ।

विद्यालयको प्राथमिक तहअन्तर्गत संयोजक खीमकुमारी शर्माले गएको केही महिनाअघि मात्र उनको क्षमताबारे भेउ पाइन् । कोरोना महामारी आउनुअघिको कुरा हो, विद्यालयमा पढाइका अलावा नियमितरुपमा अतिरिक्त क्रियाकलाप हुँदै थियो । कक्षाका करिब १ सय २० जना विद्यार्थीलाई आफूले जानेको क्रियाकलाप गर्न अह्राइयो । तीमध्ये कतिपयले नाचे, केहीले गीत गाए, कतिपयले पेन्टिङ गरे भने केहीले भाषण कला प्रस्तुत गरे । तर अभिनय रोजेकी प्रेन्साले समसामयिक विषयमा गरेको क्यारिकेचरले सबैजनाको ध्यान खिच्यो । त्यतिबेला सबैजनाले उनको कलाको जादु देख्ने मौका पाए ।

त्यसको अझ प्रष्फुटन हुने अवसर पायो, लकडाउनको फुर्सदिलो समयमा । लकडाउनले घरभित्रै खुम्चिनुपर्दा समय पनि पर्याप्त रह्यो । प्रेन्साले पनि दाजु र बुवाको सहयोगमा मोवाइलमा विभिन्न भिडियो खिचेर फेसबुकमा पोष्ट्याउन थालिन् । यूट्वमा अपलोड भए भने टिकटक पनि बन्दै गए ।

मुलुकको पछिल्लो राजनीति, कोरोना भाइरस महामारी, नेपाल–भारत सीमा विवाद, वैदेशिक रोजगारी, गाउँघरमा बाँझो बन्दै गएको खेतबारी, दुःखी गरिब र मजदूरको पीडा व्यङ्ग्यात्मक शैलीमा भिडियो बन्दै गए । सरोकारवालालाई समेत घच्घच्याउने खालका उनको भिडियो आफन्त, साथी, विद्यालय गुरुवर्ग, इष्टमित्र तथा छरछिमेकले धमाधम सेयर गर्न थाले । मानौं उनी एकखालको ‘भाइरल’ भइन् । म्याग्दीको मंगला गाउँपालिका स्थायी घर भएको रेग्मी परिवार छोरीको प्रतिभा देखेर दंग छ । बाबु रामकृष्णले युट्ुवमा ‘प्रेन्सु अफिसियल’ नामक च्यानल खोलिदिएका छन् ।

लामोखालको अनुच्छेद पनि प्रष्ट बोलीमा नहेरीकन भन्न सक्ने उनको विलक्षण क्षमता छ । लकडाउनकै बेलामा कक्षा २ उत्तीर्ण भइ ३ पुगेकी उनले आफ्नो कक्षाका विषय भिडियोमार्फत अरु साथीलाई पढाउने गरेकी छन् । अंग्रेजी, गणित, विज्ञान, नेपाली लगायतका मुख्यमुख्य विषय उनले एकचरण पढेर भ्याइसकेको बताइन् । सबै उनलाई कण्ठस्थ आउने गरेको यूट्वमै देख्न सकिन्छ । सानै उमेरदेखि नै फरक क्षमता देखेका उनले छोरीले भविष्यमा लय समात्नेमा उनी ढुक्क छ । लकडाउन बेलामा घरमा बस्नुपर्दा छोरीको कला अझै निखार आएको देखेका उनले हरेक भिडियो सेयर गरेर सहयोग गर्छन् । छोरीको कला देखेर केही मिडिया पनि खोज्दै आएको उनले बताए । आमा जयन्ती. पनि सानैदेखि प्रेन्साको स्वभावबारे पूरापूर जानकार छन् । भनिन्, ‘छोरीको आफूले मात्र नखाने अरुलाई पनि केही दिन पाए हुन्थ्यो भन्ने स्वभाव छ । निकै ज्ञानी र बुझक्की छ । दोस्रो सन्तानको रुपमा यति राम्री छोरी पाएकोमा निकै खुसी छु ।’

मास्क बेचेपछि बचत भएको रकमबाट प्रेन्साले सानो उमेरका १० जना बढीलाई पढाइको लागि आवश्यक स्टेशनरी सामग्री सहयोग गरिसकेकी छन् । साथै, उनले केही दिनअघि प्रहरीलाई समेत सर्वसाधारणलाई वितरण गर्ने गरी मास्क दिइन् ।

उनले स्टेशनरीमा प्रेन्सा स्टलसमेत खडा गरेकी छन् । कसैलाई कापी किन्नेसम्म पैसा नभए, निःशुल्क लिन सकिन्छ । सानैदेखि अरुलाई सहयोग गर्न रुचाउने यी प्रतिभाशाली प्रेन्साजस्तै धेरै बालबालिकाको प्रतिभाको कदर हुनु आवश्यक छ । भविष्यमा के बन्ने भन्ने जिज्ञासामा उनको सटिक जवाफ छ, ‘देशको लागि जे आवश्यक पर्छ, त्यही बन्छु ।’