नेकपा महाधिवेशन मंसिरमा !

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७७
ncp

काठमाडौं । शीर्ष तहमा देखिएको विवाद समाधानका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो सचिवालय बैठकले आगामी मङ्सिरमा एकताको महाधिवेशन गर्नेबारे सर्वसम्मत निर्णय भएको खुलेको छ । नेकपाको जारी स्थायी कमिटीको बैठकका पार्टी र सरकारको समन्वय तथा शक्तिको बाँडफाँटबारे उत्पन्न विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ३ गतेको सचिवालय बैठकमा उक्त प्रस्ताव गर्दा अध्यक्ष पुष्पकमल दाहालसहित नेताले सहमति जनाभएको सचिवालयका एक सदस्यले जानकारी दिए ।

सो दिनको बैठकपछि सचिवालयका कतिपय नेताबाट सहमतिको ठोस प्रस्ताव नआएको र त्यति चाँडै महाधिवेशन आयोजना गर्न सम्भव नहुने धारणा आफूहरूले राखेको भनी प्रतिक्रिया सार्वजनिक भएपछि मङ्सिरमा महाधिवेशन प्रस्तावबारे सचिवालयमा थप छलफल हुन सकेको छैन भने स्थायी कमिटी बैठक पनि नियमित बैठकमा प्रवेश गर्न पाएको छैन । विवाद कायम रहँदा गत असार १० गतेदेखि शुरु भएको स्थायी कमिटीको बैठक मंगलबार बाढी, पहिरो र प्राकृतिक विपत्तिमा परेकाको उद्धार, राहत र पुनःस्थापनामा परिचालित हुन आह्वान गर्दै साउन १३ गतेसम्मका लागि स्थगन भएको छ ।

नौ सदस्यीय सचिवालय समितिका एक सदस्य ईश्वर पोखरेलले उक्त दिन सचिवालयको बैठकमा मङ्सिरमा महाधिवेशनबारे निर्णय भएको र त्यसलाई लिखित प्रस्ताव बनाई स्थायी कमिटीमा पेश गर्न समय लाग्ने भएकाले साउन ४ गतेको स्थायी कमिटीको बैठक सार्न प्रस्ताव हुँदा वरिष्ठ नेता माधवकुमार नेपालले बैठक सार्न नहुने धारणा राखेको तर महाधिवेशनबारे विरोध नगरेको खुलाए ।

नेता पोखरेलले भने, “तर बाहिर जेजे विषय आइरहेका छन् र चाँडो महाधिवेशनबारे लिखित प्रस्ताव सचिवालयमा ल्याउने तदारुकता नहुनुले हामीलाई आश्चर्यमा पारेको छ । बैठकमा केही नेताको असहमति रहेको भनी बाहिर आएको कुरा बिल्कुल सही होइन ।” नेकपाको गत केन्द्रीय कमिटीको बैठकले एकताको महाधिवेशन आगामी चैत मसान्तमा गर्ने निर्णय गरेको थियो । अहिले भने चाँडै महाधिवेशन गर्दा त्यसको तयारी र वैचारिक बहसबारे प्रश्न उठाइएको छ ।

नेकपाभित्र सहमतिकै प्रयास जारी रहेकाले स्थायी कमिटीको बैठक पटकपटक सर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width