लकडाउनले बढायो रोपाइँ

विनिता सुनार
श्रावण ४, २०७७
Ropai

पोखरा ।  गण्डकी प्रदेशमा गत वर्ष खासै धान उत्पादन हुन सकेन । तर संयोग नै भन्नुपर्छ यो वर्ष मनसुन राम्रो भयो । मनसुनमात्र नभई लकडाउनले अन्य गतिविधि ठप्प भएपछि धेरैको ध्यान कृषिमा पर्‍यो। अघिल्ला वर्ष बाँझै रहेका खेतबारी यो वर्ष सिँचिने मौका पाए ।

गण्डकी प्रदेशमा असारभित्र ७१ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ । मनसुन र लकडाउनकै कारण अघिल्लो वर्षको तुलनामा भन्दा यो वर्ष धान रोपाइँमा वृद्धि भएको कृषि विकास निर्देशनालयले जनाएको छ । अघिल्लो वर्ष गण्डकीमा ५३ प्रतिशतमात्र रोपाइँ भएकामेमा यस वर्ष धान रोपाइँमा १४ प्रतिशतले वृद्धि भएको हो ।

निर्देशनालयको अनुसार आव २०७५/७६ मा गण्डकीमा १ लाख १९ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो भने आव २०७६/२०७७ मा भने कुल १ लाख २२ हजार ६ सय ९५ हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ हुने अनुमान गरिएको छ ।

समयमै वर्षा हुनाले असारभित्र कुल ८७ हजार २ सय ४ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएको निर्देशनालयका प्रमुख भानुभक्त भट्टराईले बताए । उनले भने, ‘अब साउन महिनामा पनि राम्रोसँग पानी पर्‍यो भने उत्पादनमा पनि राम्रो हुनेछ ।’
कोरोनाका कारण अन्य क्षेत्रमा जस्तै कृषि क्षेत्रमा पनि थोरबहुत प्रभाव पर्‍यो नै । समयमा विकास निर्माणका कामहरु सम्पन्न हुन नसक्दा करिब ३० करोड बजेट फ्रिज भएर बसेको उनले गुनासो गरे । भट्टराईका अनुसार अघिल्लो आवमा संघीय सरकार र प्रदेशको संयुक्त आयोजनामा १ अर्ब ४० करोड १० लाख २० हजार रुपैयाँ विनियोजन गरिएको थियो । तर विहीबारदेखि सुरु भएको चालु आर्थिक वर्ष २०७७/०७८ को लागि प्रदेश सरकारले कृषिक्षेत्रको लागि १ अर्ब ११ करोड ५८ लाख रुपैँया छुट्टाएको छ । जसमध्ये स्याङ्जा सबैभन्दा बढी बजेट विनियोजन भएको जिल्ला हो ।

यस्तै लकडाउन र राम्रो मौसमका कारण यसवर्ष धेरै खेती लगाइएको कृषि अर्थविज्ञ इन्द्रमणि लामिछानेले बताए । ‘मौसम र लकडाउनका कारण यो वर्ष किसानहरु निकै उत्साहित छन्, उनले भने, ‘रोपाइँ त भयो, अब खेती राम्रो हुनका लागि साउन र भदौ महिनामा पनि मौसम राम्रो हुनुपर्छ ।’

निर्देशनालयले दिएको तथ्याङ्ग अनुसार गण्डकी प्रदेशमा मनाङ र मुस्ताङ्ग जिल्ला बाहेक सम्पूर्ण जिल्लामा रोपाइँ भएको छ । जसमध्ये सबैभन्दा बढी नवलपुरमा १७ प्रतिशत र सबैभन्दा कम स्याङ्जामा ३५ प्रतिशत रोपाइँ भयो ।
उता, पर्वतमा ५०, बाग्लुङमा ७०, कास्कीमा ५५, तनहँुमा ९५, गोरखामा ६६.६७, लमजुङमा ९३.३३ र म्याग्दीमा ८५.४१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width