प्रहरीमा पनि देखियो कोरोना

रामकुमार श्रेष्ठ
श्रावण १, २०७७
gaidakot police

नवलपरासी, १ साउन । पूर्वी नवलपरासीमा विहीबार ५ जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार नवलपुरमा विहीबार ५ जना प्रहरीसहित असार ३० गते गैडाकोटको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेकाको साथै सुरक्षाकर्मीको समेत स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । जसमध्ये ५ जना प्रहरी र अन्य १८ जनामा पोजेटिभ देखिएको हो ।

प्रहरीमा संक्रमण देखिएपछि ईलाका प्रहरी कार्यालय गैडाकोटमा कार्यरत प्रहरीले छुट्टै आईसोलेसनमा राखि गैडाकोटमा अन्य क्षेत्रबाट जनशक्ति पठाइने तयारी भईरहेको नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर तिवारीले बताए ।
संक्रमितहरुलाई थप उपचारका लागि रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयमा पठाउने तयारी भईरहेको छ ।

आज देखिएका संक्रमित मध्ये ५ जना महिला र १३ जना पुरुष रहेका छन् । पाँच जना प्रहरी बाहेक अरु बाहिरी देशबाट आएर होम क्वारेन्टाइनमा बसेकाहरु रहेको स्वास्थ्य प्रमुख केशव चापागाईले बताए ।

प्रहरी र होम क्वारेन्टाइनमा बसेकोलाई समेत देखिएपछि गैडाकोटमा समुदायमा कोरोना संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ ।

गैडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले गैडाकोटमा कोरोना संक्रमण समुदायमा फैलिएको हुन सक्ने भन्दै सोही अनुसार तयारीमा जुट्न थालिएको बताए ।

स्वास्थ्य प्रमुख चापागाईले इलाका प्रहरी कार्यालय गैडाकोटमा विहीबार नै अन्य सुरक्षाकर्मीको स्वाब संकलन गर्ने तयारी भएको बताए । प्रहरीमा कहाँबाट र कसरी सर्यो यकिन नभएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width