कास्कीको लाहाचोकमा दुर्लभ किङ कोब्रा भेटियो

रासस
असार ३१, २०७७
KrishnaDawadi_Kaski_RSS_31_kingcobra

कास्की, ३१ असार । जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ । घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प किङकोब्रा रहेको पुष्टि भएपछि संरक्षणका लागि अहिले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), सर्प संरक्षण समाज, स्थानीय जनप्रतिनिधिलगायतका संस्था तथा व्यक्तिहरु जुटेका छन् ।

काली नागसमेत भनिने सो सर्पको गुँड फेला परेपछि सोही स्थानमा संरक्षण गर्न निगरानीका लागि ‘क्यामेरा ट्राप’ राखिएको र वरिपरि तारजाली लगाउने काम भइरहेको एक्यापका संरक्षण अधिकृत ऋषि बरालले बताए । सो सर्प अन्दाजी १० फिट लामो रहेको छ । सबैभन्दा विषालु किङकोब्रा अण्डा पारेर बच्चा निकाल्ने एक मात्र सर्प प्रजाति भएकाले अहिले अण्डा पारेर गुँड बनाएर बसेको बरालले बताए । यसले ६० देखि ९० दिनभित्रमा बच्चा निकाल्ने अनुसन्धानकर्ता बताउँछन् ।

“अन्नपूर्ण संरक्षण क्षेत्रभित्र देखिएको किङकोब्राको गुँड संरक्षण र यसलाई अवरोध नहोस् भनेर सबैतिर तारजाली लगाउन शुरु गरेका छौँ”, संरक्षण अधिकृत बरालले भने । “क्यामेरा ट्रापसहित स्थानीयवासीलाई समेत आवश्यक सचेतना शिविर सञ्चालन गरेका छौँ ।” किङकोब्राले अण्डा पारेपछि पतकरको बीचमा सुरक्षित गरेर गुँडको सुरक्षा गर्ने र बच्चा निस्कनु सातदेखि १० दिनअघि यसले गुँड छाडेर जाने गरेको संरक्षणकर्मीको भनाइ छ । यस अवधिमा यो सर्प अन्यत्र टाढा नजाने र गुँडको सुरक्षा गरेर बस्ने गरेको बताइन्छ ।

किङकोब्राको मुख्य आहारा नै अन्य प्रजातिका सर्प र मुसा रहेको छ । कास्कीमा सन् २०१६ मा पहिलोपटक दाङसिङमा कोब्राको गुँड भेटिएको थियो । त्यसपछि सन् २०१७ मा धम्पुसफेदीमा, सन् २०१७ मा स्याङ्जामा त्यसको एक वर्षपछि पुनः धम्पुसमा भेटिएको थियो । यस वर्ष कास्की र पर्वतमा भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । यो समुद्री सतहदेखि दुई हजार मिटरदेखि दुई हजार ५०० सम्मको उचाइमा पाइने गरेको बताइन्छ ।

यसलाई अवरोध नगरेसम्म मानिसलाई केही नगर्ने एक्याप ल्वाङका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक लेखनाथ गौतमले बताए । उनले बताए “किङकोब्रा सर्प लजालु र भद्र स्वभावको हुन्छ, यसलाई अवरोध नहुँदासम्म केही गर्दैन, अण्डा कोरल्ने बेलामा बढी आक्रामक हुन्छ ।” यो सर्प लोपोन्मुख प्रजातिअन्तर्गत ‘साइटिस टु’ मा पर्ने उनले बताए । सोही वडाका वडाध्यक्ष सूर्यप्रसाद लम्सालले दुई साताअघि ठूलो र लामो आकारको सर्प देखिपछि एक्याप, संरक्षण क्षेत्र व्यवस्थापन समिति, सर्प संरक्षण समाजलगायतका संस्थामा खबर गरिएको जानकारी दिए । हाल विभिन्न संस्थाबाट संरक्षणको प्रयास भइरहेको उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width