स्याङ्जा पहिरोमा मृत्यु हुने ३ पुगे, १ अझै बेपत्ता

आदर्श समाज सम्वाददाता
असार ३०, २०७७
01

पोखरा, ३० असार । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ । पहिरोमा १ बेपत्ता छन् भने २ घाइते भएका छन् ।

मंगलबार गाउँमा पानी बनाउन जान भनी हिड्ने क्रममा ६ जना स्थानीयहरु पहिरोमा परेका हुन् ।

तीमध्ये कालीगण्डकी गाउँपालिका वडा ४ का इमानसिंह राना, ६० वर्षीय जीमानसिंह थापा र ५० वर्षीय टीकाबहादुर थापाको मृत्यु भएको हो ।

पहिरोबाट घाइते भएका रानाको उपचारक्रममा बिर्घा स्वास्थ्य चौकीमा मृत्यु भएको हो भने अन्य २ जनाको पहिरोमा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

घटनापछि वडा प्रहरी कार्यालय वालिङ, बेलटारीबाट खटिएको नेपाली सेनाको टोली र वालिङबाट सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा खटिएको थियो । स्थानीयको सहयोगमा दिनभर भएको उद्धार कार्यमा जीमानसिंहको शव साँझ ५ बजेमात्र फेला पारिएको थियो । त्यसपछि मात्र टीकाबहादुर पहिरोमा मृत फेला परेका थिए ।

पहिरोमा अझै कालीगण्डकी गाउँपालिका वडा ४ खहरेका ६० वर्षीय प्रेमचन्द्र पाण्डे बेपत्ता छन् । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा वडा ४ खहरेका ६८ वर्षीय हुमनाथ पाण्डे र वर्ष ५५ का वीरबहादुर रानाको उद्धार गरी उपचारार्थ पाल्पा अस्पताल पठाइएको थियो । उनीहरुको बिर्घा स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको हो । घाइतेमध्ये पाण्डे वडा ४ का वडा सदस्य समेत हुन् ।

पहिरो आएको देखेपछि भाग्ने क्रममा उनीहरु घाइते भएका हुन् ।

उता, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका वडा ३ चिसापनीका देवबहादुर गेदन मगर मृत फेला परेका छन् ।

स्थानीय चिसापानी खोलाको किनार बाँसको झ्याङगमा उनको शव मंगलबार बिहान फेला परेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । उनी अघिल्लो दिनदेखि बेपत्ता थिए ।

यसैगरी, कालीगण्डकीस्थित खहरे खोलामा बाढी आएर खोलाले धार परिवर्तन गर्दा ४ घर परिवार विस्थापित भएका छन् ।

विस्थापित हुनेमा वडा ४ बस्ने ५५ वर्षीय वीरबहादुर रानाको परिवार, देवबहादुर थापाको परिवार, वर्ष ६० का जिमानसिंह थापा र तीलिसरा थापाको परिवार विस्थपित भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width