तनहुँको माझफाँटमा पनि पहिरो, ४ बेपत्ता

Bijay Nepal विजय नेपाल
असार २९, २०७७

सांकेतिक फोटो ।

पोखरा, २९ असार । तनहुँको व्यास नगरपालिका वडा ९, माझफाँटमा पहिरोमा घर पुरिँदा ४ जना बेपत्ता भएका छन् । अविरल वर्षापछि गएराति स्थानीय केशरबहादुर थापाको घर पहिरोमा परेको हो ।

पहिरोले उनकी ४० वर्षीया श्रीमती कमला थापा, छोराहरु वर्ष २४ का मनोज र वर्ष २० का राजेश, वर्ष २१ की छोरी अञ्जना थापा बेपत्ता भएको प्रहरीले जनाएको छ । यस्तै, माझफाँटकै ७० वर्षीया मैतकुमारी घर्तीको पहिरोमा पुरिएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

गएराति तनहुँकै म्याग्दे गाउँपालिकामा घर परिहोमा पुरिँदा १७ वर्षीया किशोरी लक्ष्मी विकको मृत्यु भएको छ । राति पौने १ बजे गएको पहिरोले घाइते लक्ष्मीको उपचारार्थ रत्नहरि अस्पताल दमौली लगिएकोमा उपचारक्रममा सोमबार बिहान मृत्यु भएको हो ।उता, रिसिङ गाउँपालिका वडा ८, पल्टयाङ भैसिलिकीका अनबहादुर थापाको २ वटा घर पहिरोले पुरिँदा बेपत्ता ५ जनाको खोजी जारी छ । पहिरोले अनबहादुरकी श्रीमती ६० वर्षीया ज्योतिमाया थापा घाइते छिन् ।

राति साढे १ बजे घरमाथिबाट आएको पहिरोले घर पुरिँदा उनका जेठा छोरा ३० वर्षीय भेषबहादुर, बुहारी २९ वर्षीया नानुमाया, नातिनी ५ वर्षीया अमिषा, अनबहादुरका कान्छा छोरा २२ वर्षीय महादेव र बुहारी १९ वर्षीया मनिसरा पनि बेपत्ता भएका हुन् ।