पोखराका विभिन्न ठाउँमा पहिरोमा ७ को मृत्यु

आदर्श समाज सम्वाददाता
असार २६, २०७७
20200710091536_IMG_0083

पोखरा, २६ असार । अविरल वर्षापछि आएको पहिरोले पोखराका विभिन्न ठाउँमा गरी ७ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा १८, सराङ्कोटस्थित गोठादीमा टंकबहादुर थापाको घर पहिरोमा पर्दा उनीसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

बिहीबार राति साढे २ बजे घरमाथिबाट पहिरो आई घर पुरिँदा ५० वर्षका टंकबहादुर सहित उनकी ४५ वर्षीया श्रीमती सोममाया, ११ वर्षीया नातिनी इशिका थापामगर, टंकको दाइको नाति ६ वर्षीय सुवान थापा र टंकको साली सरस्वती श्रेष्ठका छोरा ८ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको हो ।

पहिरोमा परी टंकको छोरी २२ वर्षीया पिंकी थापा, १८ वर्षीया छोरी आशा थापामगर घाइते छन् ।

यस्तै, पिंकीको ५ वर्षीया छोरी पीरिशा थापामगर, सोममायाकी बहिनी २८ वर्षीया सरस्वती श्रेष्ठ, सरस्वतीको १० वर्षीय छोरा सन्देश, छिमेकीमध्ये १९ वर्षीय अनिश तामाङ, १९ वर्षीय रशि थापा, १९ वर्षीया रश्मी थापामगर घाइते छन् । उनीहरुमध्ये पिंकीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा र बाँकीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

गएराति टंकबहादुरको छोरी पिंकीको जन्मदिन मनाउने सिलसिलामा छिमेकी तथा आफन्त पनि भेला भएका थिए । जसका कारण परिवारका सदस्यसहित छिमेकी पनि पहिरोको चपेटामा परेका हुन् । सडक विस्तार क्रममा खनिएको नालीको उचित व्यवस्थापन हुन नसक्दा अविरल वर्षासहित आएको पहिराले टंकबहादुरको घर बगाएको हो ।

उता, पोखरा २५, हेमजामा ७० वर्षीया हिमकला अधिकारीको मृत्यु भएको छ । बिहीबार साढे २ बजे घर पछाडिबाट आएको पहिरोले घरको गारो भत्किँदा च्यापिएर अधिकारीको मृत्यु भएको हो ।

यस्तै, पोखरा २६, पैतेडाँडाका ३५ वर्षीय दुर्गाबहादुर सुनारको घर पहिरोले बगाउँदा उनको मृत्यु भएको डाँडाकोनाक प्रहरी चौकीका इञ्चार्ज डीएसपी अर्जुन रानाभाटले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width