मास्क प्रयोग नगरेकोमा पोखरामा २१ जना पक्राउ परे

आदर्श समाज सम्वाददाता
असार २४, २०७७
maski 2

पोखरा, २४ असार । पोखरामा बिनामास्क हिड्ने २१ जना पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले कास्कीले बुधबार पक्राउ गरेको हो । पक्राउ परेका सबै जनालाई १ सय रुपैयाँ जरिवाना गरी बुधबार नै छाडिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार कोरोना भाइरस (कोभिड–१९) को थप जोखिम बढ्दैपछि सरकारले समेत बिनामास्क बाहिर हिडडुल नगर्न अनुरोध गरिएकोमा सोको अटेर गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको थियो ।

वडा प्रहरी कार्यालय बैदाम, रामबजार र बगर इकाइले पोखरामा बुधबार मास्क नलगाई हिड्ने व्यक्तिहरुलाई सम्झाई बुझाई गर्दा अटेर गरेपछि पक्राउ गरी कारबाहीका लागि प्रशासन कार्यालय पठाएको थियो । उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम जनही १ सय रुपैयाँ जरिवाना गरी छाडिएको प्रहरी प्रवक्ता हमालले बताए ।

कास्की प्रहरीले समेत नागरिकलाई अनिवार्य रुपमा मास्क प्रयोग र न्यूनतम सामाजिक दूरी कायम गर्न आग्रह गर्नुका साथै अनावश्यक जमघट नगर्न सचेत गराएको छ ।

गृह मन्त्रालयले २ दिनअघि सूचना जारी गर्दै कोभिड–१९ संक्रमण जोखिम बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई न्यूनतम २ मिटरको सामाजिक दूरी कायम गर्ने, घरबाहिर हिड्दा अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्ने तथा पूर्ण रुपमा लकडाउनको पालना गर्न आग्रह गरेको थियो ।

सोको बर्खिलाप गरेमा सरकारले संक्रामक रोग ऐन,२०२० अनुसार १ महिनासम्म कैद वा १ सय रुपैयाँ तथा दुवै सजायको व्यवस्था गरेको छ ।

पोखरामा बुधबारमात्रै १३ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा कुल संक्रमित संख्या १ हजार १ सय २९ छ । नेपालभर १६ हजार बढी कोरोना भाइरस संक्रमित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width