तयार हुँदैछन् सहस्राब्दी पदमार्गका पूर्वाधार

वासुदेव पौडेल
असार २३, २०७७
dhor-darbar

पोखरा, २३ असार । पदयात्रा पर्यटनमा चासो र चर्चा पाएको मध्यपहाडी क्षेत्रको एकमात्र सहस्राब्दी पदमार्ग(मिलेनियम ट्रेक)का विभिन्न स्थानमा विभिन्न पूर्वाधारका काम सम्पन्न भएका छन् ।

तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको यस पदमार्गमा गण्डकी प्रदेश सरकारको रु ५० लाख सहयोग र स्थानीय जनश्रमदान २० प्रतिशत गरी कूल रु ६० लाखको लागतमा काम सकिएको हो । कामले गति लिँदै गरेका अस्थामा बन्दाबन्दीले केही समय काम प्रभावित भए पनि प्रदेश सरकारले विकास निर्माणका काम बढाउने निर्णय गरेसँगै बाँकी कामलाई तीव्रताका साथ सम्पन्न गरिएको हो ।
पदमार्गको विकासका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट विनियोजित सो रकम र स्थानीय जनसहभागिता २० प्रतिशतबाट काम बढिरहेका अवस्थामा झण्डै दुई महिना सम्पूर्ण काम ठप्प भएको ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए ।

उनले यसअघि नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० का अवसरमा न्यूनतम ५० हजार पदयात्री यस पदमार्गबाट हिँडाउने लक्ष्य समेत सार्वजनिक गर्दै प्रवद्र्धन र विकासका कामलाई अघि बढाइएको बताए । “कोरोनाका कारण समग्र पर्यटकीय क्षेत्र तहसनहस भए पनि चाँडै नै महामारीको अन्त्य भई पूर्ववत् अवस्थामा फर्कनेमा हामी आशावादी छौँ”,उनले भने । “पदमार्ग क्षेत्रका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा पु¥याउनका लागि आधारभूत पूर्वाधार विकास यतिखेर हाम्रो प्राथमिकतामा छ ।”

चालु आर्थिक वर्षमा केही आधारभूत काम सम्पन्न भएको र आगामी आर्थिक वर्षमा पनि अन्य बाँकी कामलाई सङ्घ, प्रदेश एवं स्थानीय तहका सरकारसँगको समन्वय एवं सहकार्यमा अघि बढाउने लक्ष्य रहेको उनले जानकारी दिए । पूर्वाधार विकासअन्तर्गत पदमार्गअन्तर्गत पर्ने तनहँुको शुक्लागण्डकी नगरपालिका–१० स्थित ढोर मूलकोट दरबार क्षेत्रलाई तारबारसहित व्यवस्थित गरिएको छ । लगभग ३०० वर्ष पुरानो ढोर मूलकोट दरबारसहित त्यहाँका गढी, त्यहाँस्थित शक्तिपीठ, देउती बज्यैको थान, टक्सार घर आदिको भग्नावशेषसमेतलाई संरक्षण गरिएको छ ।

पदमार्गअन्तर्गतकै मिलेनियम गुफाको तारबारलगायतका कामलाई व्यवस्थित गरिएको छ । प्रवेशद्वार, टिकट घर, शौचालय, रेलिङ, गेटजस्ता विभिन्न संरचना निर्माण गरिएको समितिले जनाएको छ ।योजनाअन्तर्गत नै समितिले शुक्लागण्डकी–११ राइपुरस्थित जन्तेढुङ्गालाई तारबार गरेको छ । पदमार्ग क्षेत्रका प्रकृतिलाई पर्यटनसँग जोडी आर्थिक समृद्धिका लागि पहल गर्ने प्रयासस्वरुप प्राचीन महत्वको जन्तेढुङ्गालाई घरबास र पर्यटनसँग जोड्न लागिएको हो । समितिले आगामी वर्ष यही स्थानमा ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा मूर्ति कार्यशाला गर्ने तयारी गरेको छ ।

पदमार्ग क्षेत्रकै भीरकोट नगरपालिका–३ स्थित भीरकोट दरबार र वडा नं ७ स्थित देउपूजी ढुङ्गालाई पनि तारबार एवं व्यवस्थित गरिएको सो समितिका सदस्य बालकुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पुतली बजार नगरपालिका वडा नं २ स्थित भैँसेगौँडाको खाँणदेवीको मन्दिर जाने सिँढी बाटोमा रेलिङ निर्माण गरिएको छ । पदमार्गकै कुसुम भञ्ज्याङबाट गहते मनकामना जाने सिँढी बाटो, पुतलीबजार नगरपालिका–९ कोल्मामा चरा एवं वन्यजन्तु अवलोकनस्थललगायतका निर्माण सम्पन्न भएका छन् ।

“सहस्राब्दी पदमार्गले पर्यटन बजारमा चासो र चर्चा पाउन थालेसँगै पदमार्ग क्षेत्रका स्थानीयवासीमा पनि उत्साह थपिएको छ”, मिलेनियम भैसेगौँडा सामूदायिक होमस्टेका अध्यक्षसमेत रहेका उनले भने । “पदमार्ग क्षेत्रका ठाउँ ठाउँमा स्थानीय जागरुकतासँगै होमस्टे तथा अन्य होटेल रेष्टुराँ बनाउने क्रमले पनि गति लिएको छ ।”

Related News

सम्बन्धित समाचार

hero news full width