सडक ठाउँठाउँमा अवरुद्ध

रासस
असार २३, २०७७
DS_Galeshower-sadak abrudda

गलेश्वर, २३ असार । गए रातिदेखिकोे अविरल वर्षाका कारण पहिरो गएपछि हिमाली जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम र मालढुङ्गा–बेनी सडक अवरुद्ध भएका छन्।

गण्डकी प्रदेशको ‘लाइफलाइन’मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड ठाउँठाउँमा अवरुद्ध भएको छ । गए रातिदेखिको अविरल वर्षाका कारण उत्तरी म्याग्दी हुँदै मुस्ताङ जोड्ने सडकखण्डको अन्नपूर्ण गाउँपालिका–२ तातोपानीको नागढुङ्गा, दानाको ढुवारी खोला, गुइठे र हिस्तानको महभीरमा सडक अवरुद्ध भएको छ।

लगातार वर्षा, भिरालो जमिन र कमजोर भूबनोटका कारण सडक माथिबाट ढुङ्गामाटोसहितको लेदो पहिरो खस्दा सडक अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए। सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको छ।

वर्षा नरोकिएसम्म अवरुद्ध सडक सञ्चालन गर्न नसकिने उनले बताए। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्डअन्तर्गत सबैभन्दा जोखिमपूर्ण म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्मको भागलाई मानिएको छ । वर्षाको समयमा यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।

बेनी–दरबाङ सडक बन्द

यसैबीच बेनी–दरबाङ सडकखण्डअन्तर्गत एक दर्जनभन्दा बढी ठाउँमा हिलो, बाढी र ठाडो खोलाका कारण सडक अवरुद्ध हुँदा यातायातका साधन बीच बाटोमा नै अलपत्र परेका छन् । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले वर्षासँगै सडक अवरुद्ध भएकाले पैदल र सवारीसाधन आवतजावतमा जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरेका छन्। वर्षासँगै जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।

म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक पनि गए रातिदेखि अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको अविरल वर्षका कारण पर्वतको जलजला गाउँपालिका–४ बारीबेनीमा झरेको ढुङ्गासहितको रेलोले मालबाहक ट्रकलाई क्षति पुर्याएको बारीबेनी प्रहरी चौकीले जनाएको छ।

सडकखण्डअन्तर्गत जलजलादेखि मालढुङ्गासम्मका विभिन्न स्थानमा बाढी र पहिरोका कारण अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेका पनि वर्षा भइरहेकाले समस्या भएको प्रहरीको भनाइ रहेको छ । वर्षासँगै आएको बाढीले पर्वत बेनीको खानेपानीको पाइपमा समेत क्षति पुर्याएको छ।

वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भएको जलजला गाउँपालिकाले जनाएको छ । डोजर बोलाएर सडक खुलाउनका लागि पहल भइरहेका भए पनि वर्षाले गर्दा समस्या भएको छ । सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन पर्वत बेनीमा नै अलपत्र परेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width