ऋण चुक्ताका लागि ताकेता नगर्न होटल संघको आग्रह

आदर्श समाज सम्वाददाता
असार २३, २०७७
257433861

पोखरा, २३ असार । कोभिड १९ को महामारीसँगै नेपालमा जारी लकडाउनका कारण पर्यटन क्षेत्र ठप्पप्रायः रहेको भन्दै पश्चिमाञ्चल होटल संघ पोखराले कर्जाको साँवा र व्याज भुक्तानका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ ।

पर्यटन तथा होटल क्षेत्रलाई आषाढ मसान्तको कारण देखाउँदै बैंक तथा वित्तीय क्षेत्रबाट साँवा तथा व्याज भुक्तानको निम्ती गरिएको ताकेता प्रति ध्यानाकर्षण भएको भन्दै संघले त्यस्तो आग्रह गरेको हो ।
संघका अध्यक्ष विकल तुलाचनद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ– “हाल कुनै पनि व्यवसायीले कर्जा भुक्तान गर्ने स्थिति नरहेकोप्रति जानकार हुँदाहुदै कर्जा भुक्तानको लागि बैंक तथा वित्तीय क्षेत्रबाट ताकेता तथा मानसिक दबाब दिँदा असहज परिस्थिति उत्पन्न हुने र त्यस असहज परिस्थितिको भागिदार बैंक तथा वित्तीय क्षेत्र हुने पनि जानकारी गराउँदछौं ।”

सरकारद्धारा हाल होटल व्यवसायलाई बन्द नै घोषणा गरी सो अनुसार व्यवसाय पूर्ण रुपमा बन्दाबन्दी भएको अवस्थामा बैंकको कर्जाको साँवा तथा व्याज भुक्तान गर्न असमर्थ रहेको हुँदा बैंक र व्यवसायीहरु विचको सम्बन्धलाई अक्षुण राख्दै यस विषम परिस्थितिमा कुनै पनि होटल तथा पर्यटन व्यवसायीहरुलाई कर्जाको साँवा तथा व्याज भुक्तानीको निम्ती ताकेता वा जोडवल नगरिदिन सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई संघले अनुरोध गरेको छ ।

यसैगरी संघले पुनर्कर्जाको कार्यविधि जारी गर्न नेपाल राष्ट्र बैंकले ढिलाई गरेको प्रति पनि आपत्ती प्रकट गरेको छ । वर्तमान विषम परिस्थितिमा नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको कार्यविधि र मौद्रिक नीति आषाढ महिना भित्र नै जारी गर्नु पर्नेमा श्रावण महिनामा जारी गर्न गरेको तयारीप्रति संघले असन्तुष्टि व्यक्त गरेको हो । सरकारद्वारा घोषणा गरिएको लकडाउनको कारण पर्यटन तथा होटल क्षेत्र विगत साडे तीन महिना देखी बन्दाबन्दी भई व्यवसायिक कारोबार शुन्य रहेको र यसबाट पर्यटन तथा होटल व्यवसाय प्रत्यक्ष प्रभावित भएको संघले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भ सँगै डिसेम्बर २०१९ को अन्त्यबाट अप्रत्याशित रुपमा विश्व महामारिको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको कारण पर्यटन आगमन सुस्ताएसँगै उक्त संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारद्वारा २०७६ चैत्र ११ गते बाट लकडाउन लागू गरिएको पनि संघले स्मरण गराएको छ ।यसबाट पर्यटन तथा होटल व्यवसाय लकडाउनको अवस्थामा नै रही होटल व्यवसाय शुन्य अवस्थामा रहेको संघले उल्लेख गरेको छ । “नेपाल भ्रमण वर्ष २०२०” लाई लक्षित गरी पर्यटन तथा होटल व्यवसायमा बैंक तथा वित्तीय संस्थाको सहयोग र सहकार्यमा साना, मझौला तथा ठुला गरी अत्यधिक मात्रामा लगानीहरु भईरहेको थियो ।

हाल पर्यटन व्यवसाय मध्येको होटल उद्योगमा खरबौं रुपैयाँ लगानी, होटल क्षेत्रमा आश्रित हजारौं श्रमिक र श्रमिकसँग निर्भर परिवार साथै पर्यटन तथा होटल उद्योगबाट निर्भर अन्य उद्योग व्यवसायहरुको भविष्य अनिश्चित् बन्दै गएकोप्रति पनि संघले चिन्ता जाहेर गरेको छ । जसका कारण कूल ग्राहस्थ उत्पादनमा समेत कमी आई आर्थिक संकट उत्पन्न हुने निश्चित भएको दावी गरिएको छ । संयुक्त राष्ट्र संघ अन्तरगत रहेको संयुक्त राष्ट्र संघ विश्व पर्यटन संस्था बाट समेत विश्वका सम्पूर्ण राष्ट्रहरुलाई पर्यटन तथा होटल व्यवसाय सबै भन्दा पहिले प्रभावित हुने र पुरानो लयमा आउन केही वर्ष लाग्ने उद्योग भएको स्मरण गराइएको छ ।

अतः सम्पूर्ण राष्ट्रहरुलाई पुनःउत्थानको लागि विशेष प्याकेज ल्याउन समेत उक्त विश्व संस्थाले आग्रह गरेको छ । केन्द्रिय सरकारद्वरा जेठ १५ गते घोषणा भएको बजेटमा विशेष गरी कोभिड–१९ को कारण प्रभावित उद्योग व्यवसायको पुनर्जागरण र पुनःउत्थान गर्न विशेष आर्थिक राहत तथा उत्प्रेरणाको प्याकेज अपेक्षा गरे अनुसार आउन नसकेता पनि त्यस अनुरुप सरकारले १ खर्बका पुनर्कर्जा कोषको स्थापना गरी कर्जा उपलब्ध गराउने घोषणा गरेको संघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width