पर्यटक तान्दै माझठानाका झरना

हरि बास्ताेला हरि बास्ताेला
असार २२, २०७७
tttt

पोखरा, २२ असार । पोखरा महानगरपालिका वडा नं २८ स्थित माझठानाका दुई झरना यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् । बन्दाबन्दीका कारण अन्य पर्यटकीय गन्तव्य सुनसान बनिरहेका अवस्थामा स्थानीय रोला खोला र ढोडेनी खोलाका झरनामा भने दैनिक पर्यटकको चहलपहल बढेको छ । दूरीका हिसाबले करिब ५०/६० मिटरको फरकमा समानान्तर जस्तै बनेर झरेका झरना विगतमा सम्बन्धित निकायको ध्यान पुग्न नसक्नुका साथै प्रचारप्रसारकै अभावमा ओझेलमा परेका हुन् । सुगमस्थान एवं प्रचुर सम्भावना रहेर पनि झरना पछि परेको अवस्थालाई दृष्टिगत गर्दै पछिल्लो समयमा यसको संरक्षणका साथै पर्यटकीयरुपमा उपयोग गर्न स्थानीयले जागरुकता देखाएका छन् ।

झरनामध्ये रोलाखोला झरना ६५ मिटर उचाइको छ भनेसँगैको अर्को ढोडेनीखोला झरना ५० मिटर उचाइमा छ । पछिल्लो समयमा यहाँका दुईवटै झरनामा साहसिक खेल क्यानोनिङ सञ्चालन गरिएको छ । जेठ महिनादेखि मङ्सिरसम्म झरनामा पर्याप्त पानी हुने भए पनि बाँकी महिना भने पानीको मात्रा कम हुने गरेको छ । दुईवटै खोलाबाट पाइप विस्तार गरी खानेपानीको व्यवस्था गरेपछि झरनामा पानी घटेको हो । खानेपानीको अन्य विकल्प सोच्ने हो भने १२ महिना नै झरना देख्न सकिने सम्भावना छ ।

यसअघि २०७३ सालमा स्थानीय पहलमा नेटादेखि झरनासम्म पुग्ने मोटर बाटो निर्माण गरिएसँगै सो क्षेत्रमा बाँझो र सुक्खा जमिनमा सिँचाइ सुविधा पु¥याइएको थियो । सिँचाइसँगै उत्पादनमा वृद्धि हुनुका साथै यो स्थल पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको रोलाखोला निलिरह पर्यटन पूर्वाधार समितिका अध्यक्ष भोजराज भूर्तेलले जानकारी दिए । “पहिले झरनासम्म मानिससमेत पुग्नसमेत अप्ठ्यारो थियो, नयाँ ट्र्याक र सिँचाइ कुलो निर्माणमा रु १५ लाख खर्च भएको छ”, उनले भने “बाटो निर्माणसँगै यतिखेर झरनाले पर्यटकीय गन्तव्यको रुप लिएको छ ।” बाटो निर्माणपछि झरनाको आकर्षण बढेको र सिँचाइ कुलोले सयौँ रोपनी बाँझिएका जमिनमा अहिले रोपाइँ भइरहेको स्मरण गर्दै उहाँले त्यसका लागि स्थानीय बाँस्तोला समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

झरनासम्म पुग्नका लागि कच्ची मोटर बाटो निर्माण भएसँगै पर्यटन पूर्वाधार समिति एवं स्थानीय जनप्रतिनिधिसहितको भेलाले ट्रिप लङ पाक्स गानयोन ट्रिक्स प्रालिलाई क्यानोनिङ सञ्चालन र पूर्वाधार विकास गर्न पाँचवर्षे सम्झौता गरेको थियो । पोखरा–२८ का वडाध्यक्ष निर्मल दियालीका अनुसार यस स्थललाई स्थानीय बासिन्दासँगको सहकार्यमा वडाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनेछ । “झरनाको प्रचारप्रसारका साथै आवश्यक भौतिक संरचना निर्माणमा गुरुयोजना निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यक छ”, उनले भने । “यसका लागि स्थानीय पहल एवं जागरुकता अपरिहार्य छ ।” झरनासम्म पुग्ने बाटो, पानी पर्दा ओत बस्ने ठाउँ, चेन्जिङरुम, शौचालय जस्ता अत्यावश्यक भौतिक संरचना तयार गरेर आगन्तुक आन्तरिक एवं बाह्य पर्यटकलाई सुविधा पु¥याउन तत्काल पहल गरिने उनले बताए ।

यहाँको प्राकृतिक सुन्दरतालाई पर्यटन बजारमा प्रवद्र्धन गर्दै स्थानीय उत्पादनसँग जोडेर थप आयआर्जन गरिने उनले बताए । स्थानीयवासी सूर्य बाँस्तोलाका अनुसार प्रचारप्रसारको अभावमा पनि पछिल्लो समय झरनामा क्यानोनिङ गर्ने, हेर्ने, र छहराको शीतलतामा रमाउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । “एकै स्थानमा दुई वटा झरना कमै स्थानमा पाइने भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन्”, उनले घने । “पछिल्लो एक महिनादेखि दैनिक ५०० देखि एक हजार ५०० दर्शकले झरनाको अवलोकन गर्दै आनन्द लिदै आएका छन् ।”

बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म विशेषतः युवावर्गको घुइँचो लाग्ने गरेको बताउँदै उनले झरनालाई स्थानीयवासीको आयआर्जनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । क्यानोनिङ सञ्चालक रोशन त्रिपाठीका अनुसार यतिखेर झरनामा आन्तरिक पर्यटकको आकर्षण बढे पनि साहसिक खेल क्यानोनिङ गर्नेको सङ्ख्या भने बढ्न सकेको छैन । उनका अनुसार संस्थाले क्यानोनिङका लागि नेपालीलाई प्रतिव्यक्ति रु एक हजार ५०० एवं बाह्य पर्यटकको हकमा भने प्रतिव्यक्ति ७० डलर निर्धारण गरेको छ । पाँच जनाको समूहमा आएमा जनही ६० डलर र त्योभन्दामाथिको सङ्ख्यामा एक जना बराबर ५० डलर शुल्क लिने व्यवस्था गरिएको छ । झरनामा क्यानोनिङका लागि आवश्यक पूर्वाधार निर्माणमा छ लाख रुपैयाँ खर्च भएको उनले बताए ।

कम्पनीले सो स्थानमा पुग्ने पर्यटकको सुविधाका लागि दुवै झरनाको बीचभागमा करिब ५० जना दर्शकलाई ओत बस्ने ट्रष्ट भवन, चेञ्जिङरुम र शौचालय निर्माण गर्ने तयारी गरिरहेको उनको भनाइ छ । पोखरा अर्घौका २१ वर्षीय प्रदीप अधिकारीले रोला झरनाको क्यानोनिङ अन्यत्रकोभन्दा सुरक्षित र आनन्ददायी भएको अनुभव सुनाए । गर्मी मौसममा चिसोपानीसहितको झरनामा डोरीको सहायताले ६५ मिटरको उचाइबाट झर्दा छुट्टै आनन्दको महसुस भएको उनले बताए । प्रचारप्रसारको अभावका साथै पूर्वाधार विकास हुन नसकेका अवस्थमा पनि झरनामा आउनेको सङ्ख्यामा दिनानुदिन वृद्धि भएको स्थानीय राधाकृष्ण भूर्तेल बताउछन् । पृथ्वीराजमार्गको तालचोकदेखि वेगनासताल खण्डकको शिशुवा तथा मोहोरीयाबाट लामास्वारा, स्याखुदीबाट बाँस्तोला गाउँको नेटा हुँदै उक्त झरनासम्म पुग्न सकिन्छ । बाटोमा पोखराको तालमध्येको दोस्रो ठूलो वेगनासताललाई विभिन्न आकारमा देख्न सकिन्छ भने आसपासका अन्य ताललाई पनि नजिकबाट नियाल्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

    • मुस्ताङको गुमनाम पुस्तकालय

      prakash dhakal प्रकाश ढकाल वैशाख २६, २०७८
      लोमान्थाङमा अहिले पनि राजसंस्था जीवित छ । औपचारिक घोषणा नभए पनि पूर्व राजकुमारले राजकाजको जिम्मा सम्हाल्दै आएका छन् । विशेषतः…
    • पर्यटन क्षेत्रलाई संकटग्रस्त घोषणा गर्न व्यवसायीको माग   

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २५, २०७८
      पोखरा । कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न…
    • आँखाले देखेको तिलिचो

      दुर्गाप्रसाद आचार्य दुर्गाप्रसाद आचार्य वैशाख २५, २०७८
      वैशाखको दोस्रो हप्ताको दोस्रै दिन थियो । पोखराको आकाश निकै मैलो थियो र देशैभरि यस्तै । फाट्टफुट्ट परेको पानीले मैलो…
    • लकडाउनले २ सय पर्यटक थुनिए

      prakash dhakal प्रकाश ढकाल वैशाख २५, २०७८
      पोखरा  । दोस्रो लहरको कोरोना त्रासबाट जोगिन सरकारले घोषणा गरेको निषेधाज्ञाका कारण पोखरा र आसपासका पर्यटकीय क्षेत्रमा २ सय हाराहारी…
    • समृद्धि र विकासमा सर्वसाधारणलाई जोड्दै ताल

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २१, २०७८
      गण्डकी । तालैतालको वडाका रूपमा ख्याति कमाएको पोखरा महानगरपालिका २६ स्थित खास्टे, न्युरेनी र गुँदे ताल यहाँका स्थानीयवासीको समृद्धि र…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post