नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक खटपटले पार्टीको भविष्यलाई लिएर धेरै शंका उपशंका उब्जाएको छ । पार्टी एकीकरण र आगामी कार्यदिशाबारे छलफल गर्न स्थायी कमिटी सोमबारदेखि बस्दै छ । यसअघि २ दिन बैठक बसेर २ अध्यक्षबीच छलफल गर्ने भन्दै सोमबारसम्मका लागि स्थगित भएको थियो । तर २ अध्यक्षबीच आफ्नो अडानको निरन्तरताले कुनै सहमति जुटेको छैन । यही बीचमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रधानमन्त्रीको सन्देश लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा गएको घटनाले नेपाली राजनीतिमा नयाँ तरङ्ग छरिएको छ । सत्ता साझेदारीको प्रस्ताव लिएर नेम्वाङ देउवा निवास गएको समाचार आइरहेका बेला नेम्वाङले चाहीँ संसदीय विषयमा छलफल भएको प्रतिक्रिया दिएका छन् । उनले संवैधानिक परिषद् बैठक र एमसीसी लगायत संसदीय गतिविधिमा छलफल गरेको बताएका हुन् ।
तर उनको भेटलाई निकै महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटको अवस्थामा पुगे काँग्रेससँग सत्ता साझेदारी गर्ने प्रस्ताव देउवालाई पठाएको श्रोतको दाबी छ । पार्टीभित्रको आन्तरिक विवादले उग्र रुप लिइरहेका बेला ओलीले सत्ता टिकाउन नयाँ प्रस्तावको रुपमा काँग्रेसलाई अघि सारेको बताइएको छ । काँग्रेसलाई केही मन्त्रालय दिएर सरकारमा समावेश गराउने र आफू प्रधानमन्त्रीमै रहने गरी आन्तरिक गृहकार्य गरिरहेको नेकपा निकट श्रोतले बतायो । प्रधानमन्त्री ओलीले पनि केही दिनअघि देउवासँग भेट गरेका थिए । प्रधानमन्त्रीले चालू संसद् अधिवेशन अन्त्यका लागि गरेको हतारोले पनि धेरै आशंकाहरु पैदा गरेको छ ।
शनिवार प्रधानमन्त्री ओलीले अनौपचारिक रुपमा मन्त्रीहरुलाई बोलाएर आफ्नो लाइन कित्ताकाट गर्न दबाब दिएका थिए । नेकपाभित्र २ अध्यक्षबीच आ–आफ्नै अडान कायम छ । प्रधानमन्त्री राजीनामा नदिने अडानमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को समूह पनि राजीनामाका लागि दबाब सिर्जना गरिरहेको छ । आइतबार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीसँगको भेट र सत्ता सहकार्यबारे प्रश्न गरेका थिए । त्यसपछि सभापति देउवाले ब्रिफिङ गर्दै गणतन्त्र खतरामा पर्ने कुनै कदम नगर्न सुझाएको बताएका थिए ।
नेकपा स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यो भेटघाटलाई सामान्य रुपमा लिएका छन् । ‘उपनेताले विपक्षी दलको नेतालाई भेट्नु त जेन्टलमेन मिटिङ हो नि । यसलाई नियमित र सामान्य रुपमा लिनुपर्छ,’ उनले भने, ‘सत्ता समीकरणका कुरा भएका होइनन् ।’ पार्टी विभाजनका लागि धेरैतिरबाट प्रयास भैरहेको उनको भनाइ छ । ‘फुटाउने भनेर त लागिरहेका छन् । तर फुट्न दिनुहुँदैन भन्ने नै हो,’ उनले अघि थपे, ‘पार्टीलाई अझै एकीकृत बनाउन र विभाजनबाट जोगाउन सबैजना लागिरहनुभएको छ । बैठकमा पनि यिनै विषयहरु उठ्छन् ।’
काँग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले समाचारमा आएअनुसार घटनाक्रमको विकास नभएको बताए । ‘समाचारहरुको विश्वास नगर्नुहोला । नेम्वाङजी सहयोगको प्रस्ताव लिएर आउनुभएको थिएन,’ उनले आदर्श समाज दैनिकसँग भने, ‘हामीले सहयोग गर्छौं भनेको पनि छैन । हामी क्लीयर छौं कि नेकपाभित्रको आन्तरिक विवादमा काँग्रेसले कुनै पक्ष लिँदैन । यो उनीहरुको पार्टीगत विवाद हो ।’ केही सञ्चारमाध्यमहरुले रिजाल समेत सहभागी बैठकमा नेम्वाङले सत्ता साझेदारीको प्रस्ताव ल्याएको खबर आएका थिए । तर रिजालले भने त्यो सत्य नभएको प्रतिक्रिया दिएका हुन् ।
अर्का केन्द्रीय सदस्य रमेश लेखकले पनि सत्ता समीकरणको कुनै एजेण्डाको प्रस्ताव नेकपाले नगरेको बताए । ‘आफ्नोभित्रका विरोधीहरुलाई तर्साउने गेम खेलिरहेका छन् । एउटा कुराका लागि शेरबहादुरजीलाई बोलाउँछन् । आयोगका कुरा गर्छन् । बाहिर म्यासेज शेरबहादुरसँग मिल्छु भन्ने देखाउँछन्,’ उनले भने, ‘सुवास नेम्वाङलाई पठाएर कुरो पार्लियामेन्टको गर्छन् । अनि बाहिर म्यासेज अर्कै पठाउँछन् । सत्ता समीकरणको कुरा भएको छैन ।’ उनले अर्को पार्टीभित्रको आन्तरिक विषयमा प्रवेश गर्नु उचित नभएको बताए । ‘अहिले उनीहरुको विवादमा चियोचर्चो गर्ने र कसैको पक्ष विपक्ष लिनु कुनै काम नै छैन,’ लेखकले भने, ‘यो अवस्थामा समीकरणको कुरा आए गलत हुनेछ ।’ नेकपा स्थायी कमिटि बैठक सोमबारदेखि चल्नेछ।
Related News
सम्बन्धित समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
hero news full width
मुख्य समाचार
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१