होमस्टे संचालन सम्बन्धी विधेयक माथि छलफल

Avatar आदर्श समाज सम्वाददाता
असार १७, २०७७

पोखरा, १७ असार । सयपत्री समाज कास्कीले “गण्डकी प्रदेशको होमस्टे संचालन सम्बन्धी विधेयक २०७६”माथिको सरोकारवालाबीचको अन्तरक्रिया सम्पन्न भएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा गत वर्ष नै ड्राफ्ट गरिएको उक्त विधेयकमाथिको छलफल मन्त्रालयका प्रतिनिधि, प्राध्यापक, होमस्टे संचालक, नागरिक समाजका प्रतिनिधिहरू लगायतले सहभािगता जनाएका थिए । सयपत्री समाजका अध्यक्ष गेहेन्दे्रश्वर कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विज्ञका रूपमा डा.रामचन्द्र बरालले विधेयकमाथि समीक्षा गरेका थिए ।

डा.बरालले होमस्टे शब्द नै नेपालीकरण गरी घरबास पर्यटनको प्रयोग गर्नुपर्ने भन्दै सैद्धान्तिक आधारहरूको जगमा विधेयकको पुनरावोलकन गरेको बताए । घरबास पर्यटन कर्पोरेट पर्यटनबाट पृथक रहि सामाजिक व्यवसायको रूपमा ग्रामीण सामुदायिक सहभागितामा हुनुपर्ने जसले वैकल्पिक पर्यटनका रूपमा समुदायमा लाभ र दायित्वको वितरण सुनिश्चित गर्न सक्दछ भन्दै सामाजिक पुँजीलाई यथावत राखी स्थानीय कृषिमा आधारित परिकार र स्थानीय मूल्यमा आधारित अचारको अभ्यास गराई मौलिक संस्कृतिको जगेना गर्न पनि घरबास पर्यटनको विशेष महत्व रहने तर्फ औल्याए । डा. बरालले घरबास पर्यटनको मुल मर्म सामाजिक व्यवसायलाई प्रकट गर्नु र सरलीकृत गर्नु रहेकाले बिधेयकको प्रस्तावना सो बमोजिम स्पष्ट हुनुपर्ने जिकिर गरे ।

घरबास पर्यटन निजी रूपमा संचालन गर्ने नभई सामुहिक सहभागितामा लाभ र दायित्व वितरण तथा स्थानीय तहको पर्यटन सुचना केन्द्रसगँको समन्वय र जिम्मेवार पर्यटनका लागि यो प्रारूप अभ्यासमा आएको हुदाँ सामुदायिकतामा नै जोड दिनु पर्ने डा. बरालको तर्क थियो । घरबासको वर्गीकरण गर्दा पाहुनाको संख्याको आधारमा नभई उपलब्ध हुने सेवा सुविधाको गुणस्तरका आधारमा हुनुपर्नेमा जोड दिए ।

कालाबाङ घडेरी होमस्टेका अध्यक्ष प्रकाश गुरूङले बसाई सराईलाई नियन्त्रण गर्न र वैदेशिक रोजगारबाट फर्केको जनशक्ति परिचालन गर्न होमस्टे सफल रहने विचार व्यक्त गर्दै विधेयकमा परम्परागत सामाग्री, स्थानीय मौलिकताको संरक्षण, योगको व्यवस्था आदि थप गर्नु उपयुक्त हुने सुझाव दिए । होसान, गण्डकीका सचिव कृष्ण तिमिल्सिनाले निजी होमस्टेलाई पनि निश्चित मापदण्डका आधारमा व्यवस्था गरिनु उपयुक्त हुने विचार व्यक्त गरे ।

नाटा गण्डकी प्रदेशका हरिराम अधिकारीले घरबास र होटल बिच भिन्नता रहेको उल्लेख गर्दै निजी र सामुदायिक होमस्टेलाई क्षेत्रगत रूपमा व्यवस्था गरिनु पर्ने विचार व्यक्त गरे । गाउँ पर्यटन प्रवद्र्धन समाजका सदस्य श्याम लामिछाने होमस्टेहरूलाई व्यवस्थित गरी आवश्यक तालिमको व्यवस्था गर्नु पर्नेमा जोड दिए । भुजेल गाउँ होमस्टेका बल बहादुर भुजेलले कतिपय पाहुनाहरूको व्यवहार राम्रो नहुने भन्दै होमस्टेहरूलाई मर्यादित बनाउनु पर्ने आवश्यकता रहेको औल्याए ।

वन विज्ञ अध्ययन संस्थानका प्राध्यापक श्रीकान्त खतिवडाले नेपालमा होमस्टेको अवधारणाको सुरूवात सामुदायिक प्रयत्नबाट नै भएको र स्थानीय तहबाट नै होमस्टेको नियमन एवं कर व्यवस्थापनको काम हुने व्यवस्था मिलाउनु पर्ने विचार व्यक्त गरे । शान्तिका लागि नागरिक समाजको संजाल कास्कीका संयोजक विष्णु बरालले गण्डकी प्रदेश सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर पञ्चवर्षीय योजना समेत निर्माण गरेको भन्दै होमस्टेलाई व्यवस्थित र मर्यादित बनाउनु पर्ने राय व्यक्त गरे । नेष्ट प्रालिका योगेश श्रेष्ठले होमस्टे संचालनका लागि विधेयकमा नै सबै विषय समटिनु पर्ने नभई विस्तृत रूपमा नियमावली र कार्यविधिमा समेट्न सकिने विचार व्यक्त गरे ।

मन्त्रालयका औद्योगिक तथा पर्यटन प्रबद्र्धन महाशाखा प्रमुख डिल्लीराम रिज्यालले हतार नगरी व्यापक छलफल गरेर मात्र कानुन निर्माण गर्नु आवश्यक रहेको भन्दै ऐन, नियमावली र कार्यविधिमा के के राख्ने बारे विस्तृत छलफल गरेर अगाडि बढ्ने बताए । मन्त्रालयका पर्यटन गुरूयोजना प्रमुख जुद्ध बहादुर गुरूङले विधेयकमा अझै धेरै सुधार्नु पर्ने विषयहरू रहेको स्वीकार्दै थप छलफलबाट अघि बढ्ने विचार व्यक्त गरे । संस्थाका अध्यक्ष गेहेन्दे्रश्वर कोइरालाले राज्यले समाजबाद उन्मुख समाजको परिकल्पना गर्ने हो भने सामुदाियक संरचनालाई जोडिदिनु औचित्यपुर्ण हुने बताए ।