गण्डकीमा संक्रमित झण्डै हजार पुगे

आदर्श समाज सम्वाददाता
असार १७, २०७७
Coronavirus_world_2

पोखरा, १७ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या हजार नजिक पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विज्ञप्ति जारी गरी थप २८ सँगै कुल संक्रमित संख्या ९ सय ९४ पुगेको जनाएको हो ।
गएको २४ घण्टामा प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२, स्याङ्जा ८, गोरखा र बागलुङ ३–३, कास्की र तनहुँका १–१ जनामा कोरोना पुष्टि भएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङ्टारका २ जना पुरुष, गैँडाकोटका ८ जना पुरुष र २ जना महिलामा कोरोना पुष्टि भएको हो । कास्कीको पोखरा महानगरपालिकाका ३० वर्षीय पुरुषमा कोरोना देखिएको छ । दुवै जिल्लाका नयाँ संक्रमित सबैलाई आइसोलेसन बार्डमा राखिसकिएको छ । उता, स्याङ्जाको वालिङका १ पुरुष र १ महिला, पुतलीबजारका १ पुरुष, भीरकोट नगरपालिकाका ४ पुरुषमा कोरोना पुष्टि भएको छ ।बागलुङको बडीगाडका २ र काठेखोलाकी १ महिला तथा गोरखाको वारपाक सुलीकोटका ३ पुरुष र शहीद लखन थापाका २ महिलामा कोरोना संक्रमण देखिएको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाकी ३५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । गोरखाको शहीद लखन थापाका संक्रमिलताई भरतपुरको कोरोना अस्पतालमा राखिएको छ भने स्याङ्जा, बागलुङ र तनहुँका नयाँ संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन बार्डमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए ।गण्डकीमा हालसम्म कोरोना संक्रमितमध्ये २ सय १४ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । गण्डकीका ११ जिल्लामा अझै ४ हजार ६ सय ४२ जना क्वारेन्टाइनमा बसेका छन् । हालसम्म १६ हजार ७ सय ६१ को नमुना संकलन भएकोमा नतिजा आउन बाँकी ३ सय ६६ जनाको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width