समुदायमा कोरोना फैलिनबाट पोखरा सुरक्षित, ७ नयाँ थपिए

आदर्श समाज सम्वाददाता
असार १६, २०७७
Blood sample tube positive with COVID-19

पोखरा, १६ असार । पोखरा महानगरपालिकामा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गरी सोको पुष्टि गरेको हो ।

संक्रमितमध्ये वर्ष २७ की महिला छन् भने वर्ष ३० का २ जना र वर्ष ३५, ३६, ३९ र ५३ का १–१ जना पुरुष रहेका छन् । योसहित पोखरा महानगरपालिकाभर कोरोना संक्रमित संख्या ३९ पुगेको छ ।
महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले महानगरभित्र समुदायस्तरमा अझैसम्म कोरोना नफैलिएको र जोखिम न्यूनीकरणका लागि आफूहरुले क्वारेन्टाइन व्यवस्थित गर्नेदेखि कन्ट्याक्ट टे«सिङको कार्यलाई निरन्तरता दिएको बताए ।

उनका अनुसार हालसम्म १५ जना निको भइ घर फर्केका छन् भने बाँकी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन बार्डमा उपचार गराइरहेका छन् ।
बाहिरबाट आएका सम्भावित कोरोना संक्रमितको आशंकामै क्वारेन्टाइन राखिने हुँदा यसलाई सबैले स्वभावित लिनुपर्ने उनको तर्क छ । तर क्वारेन्टाइन व्यवस्थित बनाउने विषयमा आफूहरुले स्वास्थ्य मन्त्रालय तथा डब्लुएचओले भनेअनुसार फरक–फरक मितिमा आउनेहरुलाई छुट्टै कोठामा आवश्यक प्रबन्ध मिलाएर राख्ने गरिएको पौडेल बताउँछन् ।

‘पोखरामा समुदायस्तरमा अझसम्म नफैलिनु नै हाम्रो लागि सुखद पक्ष हो,’ उनी भन्छन्, ‘तैपनि आगामी दिनमा सबैजनाले सचेतना अपनाउनुपर्दछ ।’पोखरासहित समग्र गण्डकी प्रदेशमा मंगलबारसम्म कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ । मंगलबार कास्की, तनहुँ, लमजुङ र स्याङ्जामा गरी थप १७ नयाँ संक्रमित थपिएका हुन् । कास्कीको मादी गाउँपालिकाका ४२ वर्षीय पुरुष संक्रमित बनेका छन् ।
पोखरामा सर्वप्रथम जेठ तेस्रो साता ६० वर्षे पुरूषमा कोरोना देखिएकोमा उनी काठमाडौमा उपचारपछि निको भएका छन्। तनहुँमा ५ थपमध्ये उनीहरु व्यास नगरपालिकाका हुन् । वर्ष २०, २७ र ३२ का पुरुष तथा वर्ष २७ र ३६ का महिला छन् ।

लमजुङको वेशीशहरकी वर्ष १९, मस्र्याङ्दीकी वर्ष ३८ र मध्येनेपाल नगरपालिकाकी वर्ष २० की महिलामा कोरोना देखिएको छ ।स्याङ्जाको पुतलीबजारका ३० वर्षीय पुरुषमा पनि कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबिन्दु शर्माका अनुसार गण्डकीबाट हालसम्म कोरोना संक्रमणबाट निको हुने २ सय १४ जना पुगेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width