गण्डकीमा थपिए ५३ कोरोना संक्रमित, कुल ९४९ मध्ये २ सय निको

Bijay Nepal विजय नेपाल
असार १५, २०७७

पोखरा, १५ असार । गण्डकी प्रदेशमा गएको २४ घण्टामा ५३ जना कोरोना संक्रमित थपिएका छन् । योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या कुल ९ सय ४९ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार साँझ विज्ञप्ति जारी गरी तनहूँ, बागलुङ, पर्वत, गोरखा र स्याङ्जामा गरी ४९ नयाँ संक्रमित फेला परेको पुष्टि गरेको हो । तीमध्ये ९ जना महिला छन् ।

सबैभन्दा बढी संक्रमित बागलुङका १४ जनामा देखिएको छ । जसमा बागलुङ नगरपालिकाका ४ पुरुष, गल्कोटका ९ जना पुरुष र १ महिला छन् ।

पर्वतमा १३ जना पुरुष संक्रमित थपिएका छन् । सदरमुकाम कुष्माका ३, फलेबासका २, पैयुँका २, बिहादीका २, जलजलाका १, महाशिलाका २, मोदीका १ जना पुरुष छन्।

१० संक्रमित थपिएको तनहुँको घिरिङ १ महिला, बन्दीपुरका ५ महिला, ४ पुरुष छन्।

स्याङ्जा वालिङ नगरपालिकाका ७ पुरुष र १ महिला गरी ८ जना, गोरखाको भीमसेनका ५, सिरानचोकका १ जना पुरुष गरी ६ जना नयाँ संक्रमित थपिएका छन्।

उनीहरु सबै जनाको नमुना परीक्षण काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो।

प्रदेशमा डिस्चार्ज हुनेको संख्या कुल २ सय १४ पुगे

यस्तै, प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको परीक्षणमा स्याङ्जा चापाकोट नगरपालिकाका १ महिला र १ पुरुषमा कोरोना भाइरसबाट संक्रमित भएको पत्ता लागेको छ।

गण्डकी प्रदेशकै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १६ जना कोरोना संक्रमित निको भइ सोमबार घर फर्केका छन् । आइतबारको विवरण अनुसार स्याङ्जा, म्याग्दी, तनहूँ, पर्वत र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका सम्बन्धित आइसोलेसन कक्षमा उपचार गराइरहेका ७५ जना कोरोना संक्रमित निको भइ घर फर्केका थिए । प्रदेशमा डिस्चार्ज हुनेको संख्या कुल २ सय १४ पुगेको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए।

गण्डकी ११ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका छन्।

हाम्रो सुझाव