ललितपुरको स्टार हस्पिटलमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण

एजेन्सी
असार १५, २०७७
dead-body-1_3199456_835x547-m

ललितपुर, १५ असार । ललितपुर जिल्लाको सानेपास्थित स्टार हस्पिटलमा उपचाररत २९ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेका रौतहटका २९ वर्षीय पुरूषको शनिबार राति आठ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ‘सास फेर्न समस्या भएर उनी शनिबार दिउँसो ४ बजे अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालले कोरोनाको शंका गरेर भेन्टिलेटरमा उनको उपचार गरिरहेको थियो । स्वाब निकालेर पिसिआर परीक्षण गर्न पठाएका थियौं,’ अस्पतालको कोरोना रेस्पोन्स टिमका प्रमुख डाक्टर अनिल पोखरेलले भने,‘शनिबार साँझ नै उनको मृत्यु भएको थियो। आइतबार उनको पिसिआर रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो ।

मृतक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि अब नेपाली सेनाले उनको अन्तिम संस्कार गर्न लैजाने तयारी गरेको डाक्टर पोखरेलले जानकारी दिए । रौतहटका ती युवामा पहिलादेखि नै छातीको समस्या थियो। केही दिनयता सास फेर्न समस्या भएपछि उनी एम्बुलेन्समा रौतहटबाट काठमाडौं आएका थिए। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width