पोखराका ५ महिलामा कोरोना देखियाे, गण्डकीभर संक्रमित ८५४ पुगे

आदर्श समाज सम्वाददाता
असार १३, २०७७
Coronavirus_green

पोखरा, १३ असार । गण्डकी प्रदेशमा १६ नयाँ संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कुल संक्रमितको संख्या ८ सय ५४ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार साँझ विज्ञप्ति जारी गरी कास्की, स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा गरी १६ जनामा संक्रमण भेटिएको पुष्टि गरेको हो ।

जसमा पोखरा महानगरपालिकाका ५ जना महिलामा संक्रमण देखिएको छ । उनीहरुको उमेर समूह ३०, ३३, ३५, ३७ र ४० वर्ष रहेको छ ।

उता, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिकाका ३ पुरुष र ३ महिला गरी ६ जनामा कोरोना देखिएको छ । वर्ष २२, २५ र ३३ का पुरुष र वर्ष ३२, ३२ र ३३ का महिलामा कोरोना पुष्टि भएको हो ।

कास्की र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का संक्रमितको नमुना परीक्षण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको हो ।

उता, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा स्याङ्जाको भीरकोट र गल्याङ नगरपालिकाका ५ जना पुरुषमा कोरोना देखिएको छ । जसमा भीरकोट नगरपालिकाका वर्ष ३७ र ५३ तथा गल्याङका वर्ष १७, २७ र ४२ का पुरुष छन् ।

शनिबार बिहानमात्र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका १९ जनासहित प्रदेशमा ३४ जनामा कोरोना देखिएको जानकारी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबिन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख थियो ।

प्रदेशमा कुल संक्रमितमध्ये स्याङ्जाका २ जना पुरुषको मृत्यु भएको छ भने १ सय २१ जना निको भइ डिस्चार्ज भएका छन् । पोखरामा संकलित नमुनामध्ये ६ सय ४६ को नमुना रिपोर्ट आउन बाँकी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width