घरभाडा छुट दिन पोखराका व्यवसायीको माग

आदर्श समाज सम्वाददाता
असार ११, २०७७
pohara chamber 1

पोखरा, ११ असार । पोखराका व्यवसायीले घरभाडा छुट माग गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि ३ महिनादेखि लकडाउनले व्यवसाय बन्द हुँदा ठूलो घाटा परेको भन्दै सम्बन्धित घरबेटीसँग घरभाडा छुटको माग गरेका हुन् ।

पोखराकै सबैभन्दा जेठो संस्था पोखरा उद्योग वाणिज्य संघले बिहीबार विज्ञप्ति जारी गरी संकट गहिरिँदै गर्दा घरभाडाले व्यवसायीहरुमाथि चिन्ता थपिदिएको हुँदा घरधनीहरुसँग सो आग्रह गरेका हो ।

‘घरभाडा चुक्ता नगरेकै कारण व्यवसायी नै पलायन हुनुपर्ने अवस्था सृजना हुनु घरधनीको लागि पनि राम्रो हैन । घर खाली गराउँदैमा समस्याको समाधान हुने पनि हैन,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः सम्भव भएसम्म निश्चित अवधिको भाडा मिनाहा एवं अनुकूल समयमा भुक्तानी गर्ने सहमति कायम गर्दै व्यवसाय टिकाउनेतर्फ घरधनीबाट विशेष योगदानहोस् भन्ने संघको आग्रह रहेको छ ।’

संघका तर्फबाट महासचिव अर्जुन पोखरेलले जारी गरेको विज्ञप्तिमार्फत घरभाडा छुट दिने घरधनीहरुलाई विशेष सहुलियत र कर छुटको व्यवस्था गर्न सरोकारवाला निकायहरुसँग जोडदार माग पनि गरिएको छ ।

साथै, संकटको यो घडीमा तीनवटै तहका सरकारसँग व्यवसायीहरुको लागि घोषित राहतका कार्यक्रमहरु तत्काल कार्यान्वयन गर्न र थप कार्यक्रमहरु ल्याउन मागसमेत गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width