पोखरा बहुमुखि क्याम्पसको भवन शिलान्यास

आदर्श समाज सम्वाददाता
असार १०, २०७७
PMC Building

पोखरा, १० असार । पोखरा बहुमुखि क्याम्पसको नयाँ भवन शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बुधबार भवन शिलान्यास गरेका हुन । पोखरा–९ नयाँबजारमा क्याम्पसको नयाँ भवन बनाउन थालिएको छ ।

पोखराको सबैभन्दा पुरानो सामुदायिक क्याम्पस पोखरा बहुमुखिलाई नयाँ भवन बनाउन पोखरा उपत्यका नगर विकास मातहतको चाररोपनी जग्गा उपलब्ध गराइएको छ ।महानगरका मेयर जिसीका अनुसार क्याम्पसलाई जग्गा उपलब्ध गराउन सहरी विकास मन्त्रालयबाट समेत स्वीकृति आएको छ । जग्गा अभावमा लखेटिएको क्याम्पसलाई भौतिक पूर्वाधारले बलियो बनाउनका लागि जग्गा उपलब्ध गराएको मेयर जिसीले बताए ।

‘सहरको केन्द्रमै क्याम्पस बनाउन थालिएकोले पनि सबैको सहयोग हुनेछ,’ उनले भने । क्याम्पसलाई दिइएको जग्गा प्रयाप्त नभएपनि यही जग्गाबाट कामचलाउ गर्नुपर्ने उनले बताए । पोखराको बगरमा २०४४ सालमा स्थापित यो क्याम्पस हाल नयाँबजारको महेन्द्र माविको भवनमा संचालित छ ।भवन निर्माणका लागि क्याम्पस संचालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले ५० लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । भवन शिलान्यास कार्यक्रममा अध्यक्ष लालचनले क्याम्पसलाई दिगो बनाएरै छाड्ने आफ्नो सपना रहेको बताए । ‘मेरो सपना नै क्याम्पसलाई बलियो आड दिने रहेको छ । त्यसका लागि ५० लाख रुपैयाँ दिँदैछु,’ उनले भने, ‘मुस्ताङमा जन्मेहुर्के पनि शिक्षामा मेरो रुची छ ।’

६ करोड ५० लाख रुपैयाँको लागतमा क्याम्पसले ३६ कोठाको भवन बनाउँदैछ । क्याम्पस भवन बनाउनका लागि अरु आर्थिक सहयोग महानगरपालिका, महानगरका विभिन्न वडा, त्यस क्षेत्रका व्यावसायी, राजनीतिज्ञ लगायतसँग सहयोग मागिने अध्यक्ष लालचनले बताए । क्याम्पस प्रमुख शिशुकला पराजुलीका अनुसार एकवर्षभित्र भवन तयार हुनेछ । पोखराकै पुरानो सामुदायिक क्याम्पसले बल्ल स्थायित्व पाउन थालेको उनले बताईन । पराजुलीका अनुसार क्याम्पसमा हाल मानविकी र व्यवस्थापन संकायमा चारवर्षे बिए र बिबिएस अध्यापन हुन्छ । क्याम्पसमा चारसय बढी विद्यार्थी छन् ।  भवन बनाउन अरु दाताहरुले पनि सहयोग घोषणा गरिसकेका छन् । क्याम्पस व्यवस्थापन समितिका सल्लाहकार शंकर देवकोटाले महानगरले पहिल्यैदेखि नै क्याम्पसका लागि जग्गा दिलाउने बाचा बाधेकोमा बल्ल पुरा भएको बताए । महानगरको सहयोगमा एउटा शैक्षिक संस्थाले बलियो भवन पाउने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width