अन्नपूर्णको नीति तथा कार्यक्रम प्रस्तुत: कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

श्रीभद्र पौडेल
असार ६, २०७७
annapurna gaupalika progrem photo (1)

अन्नपूर्ण गाउँपालिकाले आठौं गाउँसभा अवसरमा आव २०७७/०७८ को नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष युवराज कुँवरले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।

नीति तथा कार्यक्रममा धेरै नारासमेत समेटिएको छ । जसमा कृषितर्फ ‘कृषि क्षेत्रको अभिवृद्घि अन्नपूर्ण गाउँपालिकाको समृद्घि’ रहेको छ । गाउँपालिकाले एक घर एक टनेल, ढिकुरपोखरी र नयाँपुलमा कृषि उपज संकलन केन्द्र निर्माण, साना सिँचाइ कार्यक्रम संचालन, प्रत्येक घरधुरीका एक सदस्य एक फलफूलको विरुवा रोपण, मह उत्पादनमा जोड, कृषि विमा, भूमि बैक खडा, पालिकालाई कोदोमा आत्मनिर्भर, आलु उत्पादन कार्यक्रम संचालन तथा खाना नफालौं कार्यक्रमलाई विशेष अभियानका रुपमा संचालन गर्ने भएको छ।

पशुतर्फ एक कृषक एक दुहुनो गाई/भैंसी, भोटे कुकुरको संरक्षण, अण्डा र मासुमा आत्मनिर्भर, भुर्रा वितरण तथा पोखरी निर्माणमा जोड लगायत रहेका छन्।

त्यस्तै, पशुपालन क्षेत्रमा आधुनिक प्रविधिहरु सुधार गर्न ‘काम गरेर सिक्छः देखेर विश्वास गर्छ’ नारालाई गाउँपालिकाले अगाडि बढाएको छ ।

कार्यक्रममा पर्यटनलाई दोस्रो प्राथमिकतामा राखिएको छ । गाउँपालिकास्तरीय गुरुयोजना निर्माण, वीरेठाँटी र पोथनामा विदेशी पर्यटक गणनाको शुरुवात, अन्नपूर्ण ग्रेटर पर्यटन पदमार्गको निर्माण, भदौरे, घान्द्रुक, लान्द्रुक, पोथना, ठूलाखर्क, पाउँदुरकोट र दाङसिङस्थित सामुदायिक होमस्टेको प्रवद्र्घन, अन्नपूर्ण आधार शिविरका होटलमा कोठा थप गर्ने भनिएको छ ।

लुम्लेमा रक क्लाईम्बिङ, महँगो डाँडामा जिप फ्लायर, सार्कुको घट्टेखोलामा क्यानोनिङ, थमडाँडाबाट प्याराग्लाइडिङको सम्भाव्यता समेत गाउँपालिकाको नीति तथा कार्यक्रममा छ ।

गाउँपालिकाले परम्परागत रुपमा रहेका राडीपाखी, कम्बल, भाङग्रा, झोला बनाउने तानहरुलाई व्यवसायिकताका साथ अन्नपूर्ण ब्राण्डका रुपमा विकास गर्ने भएको छ । अल्लोमा आधारित उद्योग स्थापनाका लागि पहल, कालोबजारी अन्त्यका लागि संयुक्त बजार अनुगमन, पालिकास्तरीय उद्योग बाणिज्य संघ गठन, एक घर एक तालिमलाई अनिवार्य गर्ने जनाइएको छ।

गाउँपालिकाले सहकारीप्रति नागरिक उत्प्रेरणा अभिबृद्घि गर्न सहकारी भ्रमण र प्रशिक्षणका जोड दिने नीति अवलम्बन गर्नेछ ।कृषि क्षेत्रको थप विकासका लागि कृषि विकास बैंक स्थापनाका लागि पहल, एक गाउँ एक सडक निर्माण कार्यलाई निरन्तरता दिने, अन्नपूर्ण बृहत् चक्रपथ सडक निर्माणलाई गाउँपालिकाको गौरवको आयोजनाका रुपमा संचालन गर्ने, पालिकास्तरीय बहुउद्देश्यीय भवन निर्माण गर्ने एकीकृत बस्ती विकास योजना प्रारम्भ गर्ने, १५ शैयाको पालिका अस्पताल तथा हाइवे अस्पताल निर्माण गर्ने, विद्युत्अन्तर्गत फलामे पोलद्वारा काठे पोल विस्थापन समेत कार्यक्रम छ ।

शिक्षातर्फ ‘शिक्षकलाई सम्मान गरौँः बालबालिकालाई माया गरौं’ र ‘बालबालिकालाई विद्यालय ल्याऔँः पढाइमा टिकाऔँ र दिगो सिकाऔं’ नारालाई अगाडि बढाइने भएको छ । साथै सबै विद्यालयमा बालविकास केन्द्र अनिवार्य गर्ने, अन्नपूर्ण पोलिटेक्निकल इन्स्टिच्यूट स्थापनाका लागि जग्गा उपलब्ध गराउने, डिजिटल साक्षरता कार्यक्रम संचालन गर्ने, सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम संचालन गर्ने, माछापुच्छे« माविलाई गाउँपालिकाकै नमूना विद्यालयरुपमा स्थापना गरिने लगायत उल्लेख छ।

गाउँपालिकाले कोविड–१९ को संक्रमण रोकथामका लागि विशेष नीति पनि अगाडि सारेको छ । जसको नियन्त्रणका लागि भारत लगायत तेस्रो मूलुक तथा नेपालभित्रकै प्रभावित क्षेत्रबाट पालिका आएका व्यक्तिहरुलाई १४ दिन अनिवार्य क्यारेन्टिनमा राख्ने, कोविडका कारण पठनपाठनमा भएको अवरोधलाई दृष्टिगत गरी सम्भव भएसम्म भर्चुअल कक्षा संचालन, अनलाइन शिक्षा तथा टेलीभिजन र रेडियोमार्फत पठनपाठनका लागि पहल गर्ने जनाइएको छ ।

त्यसका साथै गाउँपालिकालेः म मेरो स्वास्थ्य र मेरो जिम्मेवारी, एक विद्यालय एक नर्स, एक घर एक धारा, महिलासँग उपाध्यक्ष, वैज्ञानिक व्यवस्थापन सहितको हरियो वन अन्नपूर्णको स्वच्छ वातावरण स्वस्थ जीवन, म भ्रष्टचार गर्दिनँ म भ्रष्टाचार हुन दिन्नँ र जनताका लागि इमान्दार भएर कार्य गर्नेछु, अन्नपूर्ण समृद्घिका लागि नियमित तिरौं करः तिरेको कर विकास मार्फत फर्किन्छ घर घर, एक वडा एक खेलमैदान जस्ता नारालाई पनि अगाडि सार्ने भएको छ ।

नीति तथा कार्यक्रमलाई कुल ५ विषयगत शीर्षक, १७ उपशीर्षक तथा दुई सय ३२ बुद्घामा समेटिएको छ। कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width