पर्वतमा २ डाक्टरसहित ५ स्वास्थ्यकर्मीमा कोरोना

आदर्श समाज सम्वाददाता
असार ५, २०७७
Blood sample tube positive with COVID-19

पोखरा, ५ असार ।

पर्वत जिल्ला अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस पुष्टि भएको छ । उनीहरुमध्ये २ पुरुष र ३ महिला हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी ५ स्वास्थ्यकर्मीसहित गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भेटिएको पुष्टि गरेको हो । कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा पर्वत कोरोना अस्थायी अस्पतालको रुपमा संचालन गरिएको थियो ।

सो अस्पतालमा खटिएका जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमध्ये २ डाक्टर, १ स्टाफ नर्स, १ ल्याब असिष्टेन्ट र १ कार्यालय सहायकमा कोरोना पुष्टि भएको हो । योसँगै पर्वतमा मात्रै कुल ४३ जनामा कोरोना पुष्टि भएको छ । ८ जना निको भइ घर फर्केको स्वास्थ्य कार्यालयका प्रवक्ता प्रवीण भण्डारीले जानकारी दिए । उनका अनुसार गुप्तेश्वरमा ती स्वास्थ्यकर्मीहरु संक्रमितको उपचारका लागि ७ दिनसम्म खटिएको र थप ७ दिनसम्म क्वारेन्टाइन बसेकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा नमुना पठाइएकाे थियाे ।

जसमा उनीहरुको रिपोर्ट अन्ततः पोजेटिभ देखिएको हो । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ लगायत कार्यको लागि सरोकारवालाको बैठक बसेको भण्डारीले जानकारी दिए । गुप्तेश्वरस्थित पर्वत कोरोना अस्पतालमा बिहीबारसम्म ३० जना संक्रमितको उपचार भइरहेको थियो । प्रदेशमै स्वास्थ्यकर्मीमा समेत कोरोना पुष्टि भएको पहिलो हो ।

पर्वत अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द भएका छन् । पर्वत अस्पतालले शुक्रबार नै विज्ञप्ति जारी गरी अस्पतालका स्वास्थ्यकर्मीहरुमा कोभिड–१९ पोजेटिभ देखिएको हुँदा इमर्जेन्सी बाहेकका अरु सेवाहरु अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ ।  अस्पतालका तर्फबाट मेडिकल सूपरिटेन्डेण्ट डा. शिशिर देवकोटाले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

गण्डकी प्रदेशअन्तर्गत तनहुँका १७ जना, बागलुङका १० जना नयाँ संक्रमित फेला परेका छन् । योसहित प्रदेशमा कुल संक्रमित संख्या ३ सय ८० पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान पनि पहिलो विज्ञप्ति जारी गरी कास्कीका ६ सहित २४ जनामा कोरोना संक्रमण देखिएको जनाएको थियो । यसरी पछिल्लो २४ घण्टामा मात्रै ५६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि बिहीबार एकैदिन ७७ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

निर्देशनालयको पछिल्लो विज्ञप्ति अनुसार तनहुँको घिरिङ गाउँपालिकामा १७ जनामा कोरोना देखिएको छ । तीमध्ये ३ महिला छन् । यस्तै, बागलुङ नगरपालिकाका ५ जना पुरुष, ढोरपाटन नगरपालिकामा ४ जना पुरुष र १ जना महिला छन् । गण्डकीका ११ जिल्लामध्ये मुस्ताङबाहेक सबैमा कोरोना फैलिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width