म्याग्दीमा धान रोपाइँ शुरु

साधन राम्जाली
असार ३, २०७७
IMG_8938

म्याग्दी, ३ असार । हिमाली जिल्ला म्याग्दीमा धान रोपाइँ शुरु भएको छ । सिंचाइ सुविधा भएको जिल्लाका विभिन्न क्षेत्रमा यस वर्ष धान रोप्न थालिएको हो ।

जिल्लाभर तीन हजार आठ सय ९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । यस वर्ष धवलागिरि, मालिका, मंगला, रघुगंगा,अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिको माथिल्लो क्षेत्रमा धान र कोदो रोपाइँ सुरु भएको छ ।

जेठको अन्तिम सातादेखी रोपाइँ सुरु भएको जिल्लाको मंगला गाउँपालिका–५ सेराफाँटका डिलबहादुर बिकले ६ रोपनी क्षेत्रफलमा फैलिएको खेतमा धान रोप्न सुरु गरिएको बताए । समयमै वर्षा सुरु भएको र सिंचाई सुबिधा भएकाले धान रोप्न थालिएको डिलबहादुर बताउँछन् । विभिन्न कारण बसाई सरी बजार झरेका डिलबहादुरका परिवार सदस्य कोरोनाका त्रासले घर फर्किएका छन् । विगतमा डिलबहादुरका परिवार सदस्य घर बाहिर हुँदा मजदुर अभावले रोपाइँमा समस्या हुने गरेको थियो ।

गत बर्ष धान रोपाइँमा खेतला हालेका बिकलाई यो बर्ष भने परिवार सबै सदस्य घर फर्किएकाले धान रोपाइमा सहज भएको छ । गोरुले जोतेर परम्परागत रुपमा धान लगाएका बिकले सिंचाई पर्याप्त भएकाले उत्पादन बढ्नेमा विश्वास व्यक्त गरे । उनिसंगै छिमेकी गाउँ छिस्बाङ्गका छेमबहादुर पुनले पनि धान रोप्न सुरु गरेका छन् । यान्त्रिक हलोले जोतेर जेठो बुडो जातको धान लगाएका पुनले सिंचाइको सुविधा भएकाले जेठको अन्तिम सातादेखी नै धान रोप्न थालिएको बताए । ‘छिमेकमा अर्मपर्म गरेर रोपाईं गरेका छौं । पानी परिरहेकाले सजिलो भएको छ,’ उनले भने । ‘छिस्वाङ, पीपलबोट, खोप्टी, पीपलबोट, सेराफाँट म्याग्दीमा धेरै धान खेती हुने ठाउँ हो ।’

गोरुले एक दिनमा जोत्ने खेत ट्याक्टर र मिनिटिलरले एकै घण्टामा सक्ने हुँदा काम छिटो हुने छिसवाङका कृषक हेमबहादुर पुनले बताए । जिल्लामा अधिकांश कृषकले खेतमा बेर्ना उत्पादन गर्ने गर्दछन् । म्याग्दीमा गौरीया, जेठो बुडो, जर्नेली, पहेँले लगायतका उन्नत जातका धान खेती हुने गर्दछ । म्याग्दीमा वार्षिक चार हजार मेट्रिक्टन धान उत्पादन हुने तथ्याङ्क छ भने उच्च पहाडी क्षेत्रमा भिरालो जमिन र सिचाई आवश्यक नपर्ने घैया जातको धान खेति हुन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width