असारे विकासको आरोपबाट मुक्त हुनुपर्छः सांसद दवाडी

प्रकाश ढकाल
असार ३, २०७७
Dhananjaya Dawadi

पाेखरा । नेकपाका सांसद धनन्जय दवाडीले असारे विकासको आरोपबाट सरकार मुक्त हुनुपर्ने सुझाव दिए। गण्डकी प्रदेश सरकारले ल्याएको आगामी बजेटबाट संसदमा छलफल गर्दै उनले असारमा विकास गर्ने परम्पराबाट मुक्त हुनुपर्ने र त्यसका लागि आवश्यक सुधारको बुँदाहरु पनि दिए।

‘असारे विकासको आरोपबाट मुक्त हुनुपर्छ । यसका लागि साउनमै खरिद ब्यवस्थापन गर्ने, समय तालिका निर्माण गर्ने, भुक्तानी प्रक्रियाबारे छलफल गर्न सक्नुपर्छ । मानव संसाधनको तयारी पनि साउनमै सकेर भदौबाट कार्यान्वयन गर्न सके राम्रो हुन्छ,’ उनले भने, ‘हरेक दिन रिपोर्ट लिने काम गरौं । विलको भुक्तानी १५ दिनभित्र दिने वातावरण बनाउनुपर्छ । सबै कार्यालयमा कम्प्युटराईज्ड कार्यप्रणालीको विकास गर्नुपर्छ ।’ सांसद दवाडीले बजेट कार्यान्वयनका लागि क्रोनिक क्यापिटालिज्मबाट जोगिनुपर्ने बताए।

ब्यापारी र राजनीतिक पार्टीबीचको गलत सम्बन्धबाट पैसा थुपार्ने अर्थ प्रणाली क्रोनिक क्यापिटालिज्म हो । उनले प्रणालीको सुधार मार्फत चालू खर्च नियन्त्रणमा राख्नुपर्ने बताए । ‘चालू खर्च बर्षेनी बढेको छ । त्यसको निणन्त्रणको लागि सार्वजनिक खर्चसँग जोडिएका संस्थागत एवं कानुनी ब्यवस्था, संस्थागत संरचना, खर्च गर्ने संयन्त्रहरु, ढाँचा र परिपाटी, खर्चसम्बन्धि नीतिहरु र खर्च ब्यवस्थापन पक्षमा ल्याएर सीमामा राख्न सकिन्छ । बर्षान्तमा खर्च लेख्ने प्रणाली रोक्नुपर्छ,’ उनले भने । हालसम्म संरचना र नीति निर्माणमा केन्द्रित भएकोले आगामी बजेट पूरापूर खर्च हुनेमा उनी विश्वस्त छन् ।

सरकारले टाट पल्टिन सक्ने ब्यवसायको आकलन गरी बजेटमा सम्बोधन गरेको भन्दै कोरोना केन्द्रित बजेट आएको प्रतिक्रिया दिए।

कृषि, रोजगारी सिर्जना हुने र पर्यटन पुनरुत्थानका कार्यक्रममा बजेटले जोड दिएको उनको भनाई छ।

Related News

सम्बन्धित समाचार

hero news full width