म्याग्दीका विद्यालयमा पाठ्यपुस्तक वितरण

रासस
असार ३, २०७७
exam-under-the-tent-1

फाइल फोटो ।

गलेश्वर ३ असार । हिमाली जिल्ला म्याग्दीका विद्यालयले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थीलाई पाठ्यपुस्तक वितरण शुरु गरेका छन् ।

जनक शिक्षा सामग्री केन्द्रको पोखरा, शिक्षा तथा समन्वय एकाइ म्याग्दी र जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ जिल्ला शाखाले सबै सामुदायिक विद्यालयको कक्षा १–१० सम्मका पाठ्यपुस्तकहरु उपलब्ध गराउन थालेको छ ।

महासङ्घको जिल्ला शाखाले स्थानीय तहमा पाठ्यपुस्तकको डिपो स्थापना गरी विद्यालयलाई पुस्तक वितरणको व्यवस्थापन मिलाएको हो । आवश्यक सबै विषयको पाठ्यपुस्तकहरु विद्यालयमा पठाइसकिएकोे शिक्षा तथा समन्वय एकाइका प्रमुख दलबहादुर थापाले बताए ।

हालसम्म जिल्लाको ९० प्रतिशतभन्दा धेरै विद्यालयहरुमा पाठ्यपुस्तक पुगिसकेको र वितरण शुरु भएको महासङ्घका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद शर्माले जानकारी दिए ।सङ्घीयताको कार्यान्वयनसँगै कक्षा १ देखि ५ सम्म पालिकाहरुले स्थानीय पाठ्यक्रम समेटिएको विषय निर्माण गरी अध्ययन तथा अध्यापनको तयारी थालेका छन् । जिल्लामा सञ्चालित विद्यालयहरुमा विद्यार्थीको उत्तीर्ण दरको तथ्याङ्कका आधारमा कक्षागत रुपमा पाठ्यपुस्तकको व्यवस्था गरिएको छ । जिल्लामा कूल दुई सय ३८ वटा विद्यालय सञ्चालनमा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width