पर्वतकाे दुर्लङमा पहिराे जाँदा ९ जना पुरिए, ५ को शव फेला

आदर्श समाज सम्वाददाता
जेठ ३२, २०७७
landslide

फाेटाेः सामाजिक सञ्चालबाट।

पोखरा, ३२ जेठ पर्वतको दुर्लुङमा गएराति गएको पहिरोमा ९ जना पुरिएका छन्। तीमध्ये ५ जनाकाे शव भेटिएको छ भने ४ बेपत्ता छन्। पुरिएकाहरुको खोजीकार्य जारी छ।

उद्धारमा स्थानीयसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली गएरातिदेखि नै खटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । सदरमुकाम कुस्मा नगरपालिका वडा ३, दुर्लुङमा शनिबार परेको अविरल वर्षाका कारण माथिबाट आएको पहिरोमा स्थानीय तुलबहादुर थापा र कमला बिकको घर पुरेको हो।

पहिरोमा परी तुलबहादुरका ६ जना र कमलाको ३ जना परिवार सदस्य पुरिएकोमा ५ जनाको शव फेला परेको छ । पहिरोमा ६० वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती नीमकुमारी र ८ वर्षीया नातिनी वीविषाको शव पहिचान भएकाे जिल्ला प्रहरी कार्यालय पर्वत प्रमुख डीएसपी विश्वराज पोखरेलले आदर्श समाजलाई जानकारी दिए।

उनका अनुसार तुलबहादुरको परिवारका अझै एक जना छोरी र २ जना नाति पहिरोमा पुरिएका छन् । यस्तै, छिमेकी कमला बिक सहित उनका २ जना छोरीहरु समेत पहिरोमा पुरिएका छन् । प्रहरीले कमलाको परिवारकामध्ये २ जनाको शव ‘लोकेट’ गरिसकेको र उद्धार भइरहेको डीएसपी पोखरेलले बताए । उनीहरूकाे पहिचान भएकाे छैन।

घटनास्थल पर्वत सदरमुकाम कुस्मादेखि उत्तरी दिशामा पर्छ । गाडी र पैदल यात्रासहित करिब १ घण्टामा पुग्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width