लकडाउन खुकुलो गरिएकोमा पोखराका व्यवसायीको स्वागत

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०७७
pcc

पोखरा, ३० जेठ ।  लकडाउन खुकुलो बनाउने सरकारको निर्णयको पोखरा उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।

साथै संघले सरकारले तोकेका मापदण्ड पूरा गर्दै सुरक्षित तरिकाले आफ्नो व्याापार व्यवसाय संचालन गर्न व्यवसायीहरुलाई आग्रहसमेत गरेको छ ।

संघ महासचिव अर्जुन पोखरेलले शुक्रबार विज्ञप्ति जारी गरी विश्व स्वास्थ्य संगठनले तोकेका सुरक्षाका मापदण्ड श्रमिकको हकमा पनि उत्तिकै अपरिहार्य भएको र उद्योगी व्यवसायी, श्रमिक र उपभोक्ता सबैलाई आफू सुरक्षित हुन तथा सुरक्षाका सबै उपाय कडाइसाथ अवलम्बन गर्न अनुरोध गरेका छन् ।

संघले लकडाउनले उद्योग व्यवसायमा पारेको असरको मूल्याङकन गर्दै यसअघि घोषित राहत र सहुलियतका कार्यक्रम तत्काल लागू गर्न पनि माग गरेको छ ।

सर्वोच्च अदालतले लकडाउन पूर्ण रुपले खुलेको ३० दिनभित्र सबै प्रकारका कर बुझाउन सक्ने गरी आन्तरिक राजश्व विभागको नाममा जारी गरेको अन्तरिम आदेशको समेत संघले स्वागत गरेको छ ।

‘सम्मानित अदालतले लकडाउन पूर्ण रुपले खुलेको केही अवधिसम्म सामाजिक दूरी लगायत अन्य विभिन्न सुरक्षित रहने उपायहरु अवलम्बन गर्नु पर्ने अवस्था परिस्थितिलाई विचार गरी विवरण र कर राजश्व दाखिल गर्ने प्रक्रिया र कार्यविधिलाई सरलीकृत गर्नू’ भन्ने आदेशको पनि पालना हुन्छ भन्नेमा हामी ढु्क्क छौं’, विज्ञप्तिमा भनिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width