९२ दिनपछि स्पेनमा फुटबल फर्कदैँ

नारायण शाही
जेठ २९, २०७७
Real Betis vs Sevilla

पोखरा । स्पेनको शीर्ष फुटबल लिग ला लिगा बिहीबार रातिदेखि पुनः सुचारु हुँदैछ । कोरोना भाइरसका कारण स्थगित यस सिजनको ला लिगा ९२ दिनपछि पुनः सुचारु हुन लागेको हो । तीन महिना भन्दा लामो समयपछि फर्किएको फुटबल प्रतिस्पर्धा भने सेभिल्लाका दुई क्लब सेभिल्ला र रियल बेटिसबाट हुनेछ ।

कोरोनाका कारण लिग स्थगित रहेको अवस्थामा सेभिल्ला ४७ अंकसहित लिगको तेस्रो स्थानमा छ । त्यस्तै, रियल बेटिस ३३ अंकसहित लिगको १२ औं स्थानमा छ । शीर्ष चारको दौडमा यथावत रहन सेभिल्लाका लागि यो खेल निकै महत्त्वपूर्ण बन्नेछ ।

उनीहरुको खेल नेपाली समय अनुसार विहान पौने २ बजे हुनेछ । सेभिल्लाको आफ्नै घरेलु मैदान रामोन साञ्चेज पिज्जुवान सेभिल्लामा खेल हुनेछ । दर्शकबिनाको बन्द रंगशालामा खेल हुनेछ । खेलाडीहरुलाई दर्शकहरुको छनक दिलाउन उक्त रंगशालामा विभिन्न प्रविधि जोडेर कृत्तिम दर्शकहरुको व्यवस्था गरिएको छ ।

अन्य बेलाको दर्शक रहेजस्तै रंगशालामा क्लबका झण्डा, ब्यानर र हुटिङलाई प्रविधिमार्फत जोडेको हुन्छ । प्रविधियुक्त रंगशालामा अघिल्लो समय भएको दुई क्लबबीचको ‘साउन्ड प्ले’ गरिनेछ । जसले गर्दा प्रतिस्पर्धी दुबै क्लबले आ–आफ्ना समर्थकहरुको अनुभूति लिनेछन् ।

क्लबका समर्थकहरुले खेल भइरहेको रंगशालामै पुगेर खेल हेर्न नपाएपनि प्रविधि जडानका कारण टिभी र अनलाइनमार्फत लाइभ हेरेर उत्साहपूर्वक खेलको रोमाञ्चकता लिनेछन् । स्पनेमा ला लिगा प्रशारण अधिकार पाएको टिभीसँग मिलेर लिगले यस्तो प्राविधिक व्यवस्था गरेको हो ।

यसअघि, भौतिक दुरी कायम राख्दै प्रशिक्षण सुरु गर्न क्लबहरुलाई स्पेनको स्वास्थ्य मन्त्रालयले अनुमति दिएको थियो । दर्शकविनाको रंगशालाहरुमा ला लिगाका खेलहरु हुनेछन् । लिगका खेल सुरु हुनुअघि सबै खेलाडीको स्वास्थ्य जाँच गरिनेछ । खेलाडी, प्रशिक्षक, अन्य कर्मचारी सबैले कडा स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्नेछ ।

कोरोना संक्रमणको बढि जोखिम मोलेको स्पेनमा त्यहाँको सरकारले देशलाई लकडाउन गरेपछि मार्चबाट ला लिगा स्थगित भएको थियो । लिगको ११ औं चरणका खेलहरु बाँकी छन् । ला लिगामा २७ औं साताका खेलहरु सकिएको थियो ।

ला लिगाको २८ औं हप्ताको खेल ५ दिनमै सकाउने लिगको तयारी छ । सबै क्लबहरुले समान २७/२७ खेलहरु खेलिसकेका छन् । जस अनुसार पहिलो दिन १ खेल, दोस्रो दिन ४ खेल, तेस्रो दिन ३ खेल, चौथो दिनमा २ खेल र पाँचौं दिनमा एक खेल हुनेछन् ।

हालसम्म, लिग तालिकामा बार्सिलोना ५८ अंकसहित शीर्षस्थानमा छ । रियल मड्रिड ५६ अंकसहित दोस्रो स्थानमा छ । ४६ अंक सहित रियल सोसिडाड चौथो स्थानमा छ । समान ४६ नै अंक भएको गेटाफे पाँचौं स्थानमा छ । ४५ अंक भएको एथ्लेटिको मड्रिड छैटौं स्थानमा छ । ४२ अंक भएको भ्यालेन्सिया सातौं स्थानमा छ ।

बिहीबार राति एक खेल भएपछि अन्य खेल भने अर्को दिन मात्रै हुनेछ । जसमा लिग लिडर बार्सिलोनाले कोरोनापछिको पहिलो खेल जुन १४ मा अवे मैदानमा मालोर्कासँग खेल्नेछ । सोही दिन दोस्रो स्थानको रियल मड्रिडले मड्रिडस्थित आफ्नै घरेलु मैदान सान्टिएगो बर्नाबाउमा एइबारसँग खेल्नेछ ।

कोरोनाका कारण स्थगित भएपछि सुचारु हुने विश्वकै फुटबलमध्ये यो स्पेनिस ला लिगा दोस्रो हुनेछ । यसअघि, जर्मन बुन्डेसलिगा फुटबल सुचारु भइसकेको छ । यसपछि प्रिमियर लिग र इटालियन सिरी ए समेत सुचारु हुने मिति र खेल तालिकासमेत सार्वजनिक भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width