सवारी दुर्घटनामा बाबुछोरासहित सात जनाको मृत्यु

रासस
जेठ २८, २०७७
Accident

काठमाडौँ, २८ जेठ । बितेका २४ घण्टामा राजधानी काठमाडौँसहित मकवानपुर, कैलाली, सिरहा र धनुषामा भएका सवारी दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीमा विपरीत दिशाबाट आएका मोटरसाइकल ठोक्किदा मकवानपुरको थाहा नगरपालिका-२ का २५ वर्षीय सर्जन नेपालीको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका-१ स्थित सडकमा द्रुतगतिमा रहेको कारले साइकललाई ठक्कर दिँदा सोही ठाउँका २६ वर्षीय साइकल चालक सोर्निमा चौधरी र साइकलमा सवार उनका पाँच वर्षीय छोरा कृष्टलको मृत्यु भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । घाडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको हो ।

यसैगरी कैलालीकै गोदावरी नगरपालिका-४ बुढीतोलामा चालकले मोटरसाइकलको सन्तुलन नियन्त्रण गर्न नसक्दा २९ वर्षीय भक्त खनालको मृत्यु भएको भने लम्कीचुहा नगरपालिका-८ गप्का सडकमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक सोही नगरपालिका-९ प्रतापपुरमा स्थायी बसोबास भएका ४० वर्षीय टेकराज घिमिरेको मृत्यु भएको छ ।

त्यसैगरी सिरहाको धनगढीमाई नगरपालिका-११ छप्रारीस्थित सडकमा रोकर राखेको ट्याङ्करलाई अर्को ट्याङकरले ठक्कर दिँदा रोकिएको ट्याङ्करका चालक भारतीय नागरिकको ज्यान गएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका-३ गजरियामा बालुवा बोकेको ट्र्याक्टरले सोही गाउँपालिकाका रमेश शर्माको छोरी तीन वर्षीया सम्झना कुमारीलाई ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । दुर्घटनामा घाइते भएकाहरूको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको र सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width