सामाजिक काममा लगाउँदै राहत दिदै

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७७
sarsafai

वासुदेव पौडेल-पोखरा, २८ जेठ । लामो समयको बन्दाबन्दीका कारण बिहान बेलुका छाक टार्न समस्यामा परेका सर्वसाधारणलाई यहाँका युवाको सामूहिक प्रयासमा सामाजिक काममा लगाउँदै राहत वितरण गरिएको छ ।

राज्यका तर्फबाट उपलब्ध गराइएको राहतले केही दिन भरथेग गरे पनि लगातारको बन्दाबन्दीका कारण काम गर्न नपाउँदा दैनिकी सञ्चालनमा समस्या परेका मजदुरलाई लक्षित गरी पोखरा महानगरपालिका वडा नं ३१ बेगनासका युवाले सामाजिक काममा लगाउँदै राहत वितरण गरेका हुन् ।बेगनास युवा क्लबका संस्थापक सदस्य पुरुषोत्तम अधिकारीका अनुसार बेगनास र आसपासमा बसी दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका सर्वसाधारणमा परेको समस्यालाई दृष्टिगत गरी राहत वितरण गरिएको हो ।

राज्यका तर्फबाट उपलब्ध गराइएको राहतले मजदुरलाई मुस्किलले दुई चार दिनलाई भरथेग गरे पनि लगातारको बन्दाबन्दीका कारण उनीहरू समस्यामा परेपछि सामाजिक काममा लगाउँदै राहत उपलब्ध गराइएको उनले जानकारी दिए ।“क्लबका सदस्य सहित बेगनास तालका सम्पूर्ण युवालाई समेटेर खाना पाइएन, भन्नेका लागि सामाजिक काममा लगाउँदै राहत स्वरुप खाद्य सामाग्री दिने अभियान सञ्चालन गरेका हौं,” उनल भने ।

“यत्तिकै राहत दिदा अनावश्यक मानिसले पनि आएर लैजाने प्रबृत्ति बढेका कारण कामसँगै राहतको नीति लिइएको हो । विगतमा बेगनास पेरीफेरी मात्र नभै बाहिरका स्थानमा पनि यहाँका युवाले राहत वितरण गरेको उनले बताए । स्थानीय युवाले एकआपसमा पैसा उठाउनुका साथै विदेशबाट सहयोग जुटाएर राहत सहयोग उपलब्ध गराएका छन् । यहाँका स्थानीय युवा विगत डेढ महिना यता विपन्न मजदुर तथा असहायको सहयोगमा जुट्दै आएका छन् । कोरोना भाइरसको संक्रमण रोकथामका लागि बन्दाबन्दी सुरु गरिएसँगै पहिलो पटक यहाँका युवाले पोखरा महानगरपालिका वडा नं ३१ परिसरलाई सेनिटराइज गरेका थिए । पहिलो पटक वडा सेनिटाइजका लागि वडालाई औषधी हस्तान्तरण गरिएको बेगनास युवा क्लबका उपाध्यक्ष एवम् ʿबेगनास तालका स्थानीय युवाद्वारा राहत वितरणʾ अभियानका संयोजक निराजन बरालले जानकारी दिए ।

वडामा सेनिटाइज सके पछि बैशाख २८ देखि लगातार चार दिनसम्म बन्दाबन्दीका कारण दैनिकी समस्यामा परेका व्यक्तिका लागि एक हजार ४२२ छाक खाना पकाएर उपलब्ध गराइएको उनले बताए । बन्दाबन्दीका कारण बिहान बेलुका छाक टार्न धौ धौ भएका सर्वसाधारणलाई दैनिक दुई तीन घण्टा बेगनास ताल र आसपासमा सरसफाइमा लगाएर कामसँगै राहत उपलब्ध गराइएको अभियानका सह संयोजक सुरेन्द्रकुमार पुनले जानकारी दिए । सामाजिक काममा लगाउँदै राहत उपलब्ध गराउने अभियान अन्तर्गत हालसम्म यहाँका २४० जनालाई राहत प्रदान गरिएको छ । राहत स्वरुप प्रति व्यक्ति १० किलोग्राम चामल, एक किलोग्राम दाल, आधा लिटर तेल, सावुन, नून, सोयाविन आदि प्रदान गरिएको छ ।

संयोजक बरालका अनुसार यहाँका युवाको एकतावद्ध प्रयासका साथै राहत सहयोगका लागि विदेशमा रहेका युवाले महत्वपूर्ण सहयोग गरेका छन् । अमेरिकामा रहेका कृष्ण सुनारले अभियानका लागि ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ भने अष्ट्रेलियामा रहेका सुवास श्रेष्ठले २४ हजार रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएका छन् । त्यस्तै कामना सेवा विकास बैंकले २० हजार, अष्ट्रेलियामा रहनुभएका राजु अधिकारीले २० हजार रुपैयाँ लगायत विभिन्न व्यक्तिबाट सहयोग प्राप्त भएको छ ।

यहाँका युवाको जगरुकता, विदेशमा रहेका युवाको सहयोग आदिको संयोजनले सामाजिक कामसँगै वडामा राहत तथा सहयोग वितरण गर्न सम्भव भएको उनले बताए । “सामाजिक कामसँगै राहत वितरणले उनीहरूमा सामाजिक उत्तरदायित्व समेत बहन गराएको छ,” उनले भने “सरसफाईसँगै यहाँको सौन्दर्यीकरणमा पनि टेवा पुगेको छ ।”

Related News

सम्बन्धित समाचार

hero news full width