भेँडाबारीमा यस्तो बन्दैछ बहुउद्देश्यीय फुटबल ट्रेनिङ सेन्टरका संरचनाहरु

निर्माण कार्य शुरु गर्न पहिलो चरणका लागि १७ करोडको बजेट

नारायण शाही
जेठ २७, २०७७
Bhendabari Football Training Centre

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, भेँडाबारीमा सकर बिचसहितको बहुउद्देश्यीय ट्रेनिङ सेन्टर बन्ने भएको छ ।

ट्रेनिङ सेन्टरको निर्माण भएपछि पोखराको फुटबल विकासमा कोसेढुङ्गा सावित हुने यहाँका फुटबल पारखीहरु बताउँछन् ।

फुटबलको सर्वोच्च निकाय (फिफा) को सहयोगमा ट्रेनिङ सेन्टर बन्न लागेको हो । गत जेठ १९ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको भच्र्युल बैठकले उक्त निर्णय गरेको थियो । जुन बैठकले ट्रेनिङ सेन्टरको निर्माण कार्य शुरु गर्न पहिलो चरणका लागि १७ करोडको बजेट समेत छुट्यायो ।

मर्दी खोलाको किनार भेँडाबारीमा २ वटा बिच सकर सहितको अन्तराष्ट्रियस्तरको फुटबल ग्राउन्ड बन्नेछ । २ सय ५२ रोपनी जग्गामा चरणबद्ध रुपमा ट्रेनिङ सेन्टरका संरचनाहरु बन्नेछन् ।

जसमा फुल साइजको ट्रेनिङ फुटबल मैदान, अन्तराष्ट्रियस्तरको टुर्नामेन्ट संचालन गर्ने खेल मैदान, २ वटा फुटसल ग्राउन्ड, चेञ्जिङ रुम, ट्रेनिङ वाटर स्वीमिङ पुल, ३५/३५ जनासम्म अट्ने छात्रछात्रा दुबैतर्फको छुट्टाछुट्टै २ वटा होस्टल, फिजिकल ट्रेनिङ जिम हल, सेमिनारका लागि कन्फरेन्स हल, अतिथिहरुका लागि क्वार्टरहरु बन्नेछन् ।

ट्रेनिङ सेन्टरको प्रोजेक्ट म्यानेजर गोकुल थापाले ४ चरणसम्म ट्रेनिङ सेन्टरको पूरा निर्माण कार्य सकिने बताए । थापाका अनुसार पहिलो चरणमा फूल साइजको ट्रेनिङ फुटबल ग्राउन्ड, ३५ जनासम्म अट्ने २ तले ब्वाइज होस्टल, ट्रेनिङ ब्लक, एक्जीक्युटिभ क्वार्टर, गेष्ट क्वार्टर, क्यान्टिन, फूट कोर्ट, २ तले गार्ड हाउस र कमन ट्वाइलेट बन्नेछन् । साथै, २ वटा गेटसहितको बाउन्ड्री वालहरुको निर्माण कार्य पहिलो चरणमा बन्ने थापाले उल्लेख गरे ।

दोस्रो चरणमा फुटबल टुर्नामेन्ट संचालन गर्ने अन्तराष्ट्रियस्तरको खेल मैदान सहित ३५ जनासम्म अट्ने गल्र्स होस्टल, प्रशासन ब्लक, एक्जीक्युटिभ क्वार्टर, गेष्ट क्वार्टर, फिजिकल ट्रेनिङ जिम हल, मेडिकल रिहाभ सेन्टर, स्टाफ क्वार्टर र गल्र्स कमन ट्वाइलेट बन्नेछन् ।

तेस्रो चरणमा अर्र्को फुटबल ट्रेनिङ ग्राउन्ड, ट्रेनिङ ब्लक, ट्रेनिङ वाटर स्वीमिङ पुल, ४ देखि ६ वटासम्मको सावरसहितको ड्रेसिङ रुम टिकट काउन्टर, पब्लिक कमन ट्वाइलेट, सोभनियर सप बन्नेछन्।

अन्तिम चरणमा बिच सकरका २ वटा ग्राउन्ड बन्नेछन् । त्यस्तै, २ वटा फुटसल ग्राउन्डसहितको चेञ्जिङ रुम, २० बाई ४० को आर्टिफिसियल पिच, क्लक टावर, एउटा ब्याडमिन्टन कोर्ट, पब्लिक कमन ट्वाइलेट, पब्लिक र खेलाडीहरुका लागि मोटर पार्किङ बन्ने थापाले बताए ।

ड्रिम प्रोजेक्ट ट्रेनिङ सेन्टरको डीपीआर तयार भइसकेको थापाले बताए । संपूर्ण संरचनाको निर्माण कार्य पूरा हुन ५० करोडसम्म लाग्ने अनुमान निर्माण कम्पनीको रहेको उनले बताए ।

‘डीपीआर सहितको अनुमानित बजेटको प्रपोजल फिफामा बुझाएका छौं, फिफाले हाम्रो प्रपोजललाई एप्रोभ गर्नै बाँकी छ,’ थापाले भने, ‘आवश्यक थप संरचनाहरु पछि पनि थपिन सक्छ, ७०/८० करोडसम्ममा संरचनाहरुको निर्माण कार्य पूरा हुने हाम्रो अनुमान हो ।’

हाल उपलब्ध २ सय ५२ रोपनी जग्गामा उक्त संरचनाहरु बनाउन लागेको एन्फा कास्की अध्यक्ष मिलन गुरुङले बताए । यस वर्ष अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो चरणको निर्माण कार्यका लागि १७ करोड ५५ हजारको बजेट छुट्याएको गुरुङले जानकारी दिए । लक डाउन खुलेलगत्तै निर्माण कार्य शुरु गर्ने गुरुङको भनाई छ । गुरुङले परियोजनालाई ड्रिम प्रोजेक्टका रुपमा लिएको बताए ।

गुरुङले भने, ‘साउथ एसियामै उत्कृष्ट ट्रेनिङ सेन्टर बन्न लागेको हो । ट्रेनिङ सेन्टरमा ३ वटा अन्तराष्ट्रियस्तरका फूल साइजका फुटबल ग्राउन्डहरु बन्नेछन् । २ वटा आर्टिफिसियल मिनी पिच बन्नेछ । २ वटै फुटसल ग्राउन्ड बन्नेछ । खेलाडीहरुका लागि ट्रेनिङ स्वीमिङ पुलसमेत बन्दैछ ।’

फुटबलको विकासका लागि पोखरामै यस्तो ट्रेनिङ सेन्टर बनाउन एन्फाले महत्व दिएको हो । देशी, विदेशी राष्ट्रिय टिमहरुको व्यवस्थित ट्रेनिङदेखि प्रशिक्षक, रेफ्री लगायत प्राविधिक जनशक्ति उत्पादन गर्ने हिसावले ट्रेनिङ सेन्टर महत्वको बन्ने एन्फाको विश्वास छ ।

ट्रेनिङ सेन्टरको निर्माण कार्य पूरा भइसकेपछि युवादेखि सिनियर टिमको महिला तथा पुरुष दुवैतर्फको ट्रेनिङ, प्रशिक्षकलाई सेन्स कोर्ष, रेफ्रीलाई रेफ्री कोर्ष र रिफ्रेसर कोर्ष तथा प्राविधिकहरुलाई प्रशासनिक कोर्ष तथा विभिन्न जिल्लाबाट छनोट भएर आएका खेलाडीहरुलाई युथ इलाइट प्लेयर ट्रेनिङ गराउने उद्देश्य एन्फाले राखेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width