एकैदिन रु १६ लाखको बोका बिक्री

रासस
जेठ २६, २०७७
SG_Myagdi_6140

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको डाँडाखानीस्थित श्रीस कृषि तथा बहुउद्देश्यीय फार्ममा पालिएको बोयर जातको बाख्रा। तस्बिरः सन्तोष गौतम, रासस

दमौली, २६ जेठ । तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीका कृषकले एकैदिनमा रु १६ लाख बराबरको बोयर बोका बिक्री गरेका छन्। व्यावसायिकरुपमा बाख्रापालन गरिरहेका यहाँका कृषकले आइतबार सो मूल्य बराबरको बोयर बोका बिक्री गरेका हुन्।

पाथर्दी बोयर स्रोत विकास केन्द्रमा आबद्ध कृषकले २६ वटा बोयर बोका बिक्री गरेको अगुवा युवा कृषक शिवकुमार आलेले जानकारी दिए। पाथर्दीका १३ जना कृषकले पालेका बोयर बोका प्रतिकिलो रु एक हजार ४१० का दरले बिक्री गरिएको उनले बताए। उनका अनुसार बिक्री गरिएका बोका २६ किलोदेखि ४१ किलोसम्मका छन्।

“बन्दाबन्दीकै बीचमा पनि बोयर बोका बिक्री गर्न सफल भएका छौँ”, उनले भन्नुभयो, “बाख्रापालन नै यहाँका कृषकको मुख्य आम्दानीको स्रोत हो ।” गरिबीको रेखामुनि रहेका यहाँका कृषक बाख्रापालनले ऋणमुक्त हुने प्रयासमा रहेको उनले बताए। “एकैदिन रु १६ लाखको कारोवार हुँदा यहाँका कृषकलाई ठूलो उत्साह मिलेको छ”, उनले भने।

यहाँका कृषकले जेठ महिनाको पहिलो साता पनि रु पाँच लाख बराबरको खसी बिक्री गरेका थिए ।

त्यसक्रममा पोखरास्थित खसी बजारका व्यापारीले गाउँमै आएर खसी किनेर लगेका थिए।

“यहाँको खसीको मासु गुणस्तरीय भएका कारण व्यापारी खसी किन्न गाउँसम्मै आउँछन्,” उनले भने, “बन्दाबन्दीका कारण खसी बिक्रीमा समस्या भइरहेको थियो तर अब बन्दाबन्दीकै बीचमा पनि खसी बिक्री हुन थालेको छ।”

बोयर जातको खसी उत्पादनका लागि यहाँ पाथर्दी बोयर बाख्रा स्रोत विकास केन्द्र स्थापना गरिएको छ। केन्द्रमा अष्ट्रेलियाबाट तीन वटा बोयर जातको व्याड बोका खरिद गरेर ल्याइएको छ । कृषकले पालेका खसीलाई बोका लगाउन केन्द्रले रु ५०० लिने गरेको केन्द्रका अध्यक्ष खेमबहादुर थापाले जानकारी दिए।

पाथर्दीमा उन्नत जातको बाख्रा उत्पादन केन्द्र बनाउने गरी खरी बाख्रामा नश्ल सुधार कार्यक्रम सञ्चालनको तयारी गरिएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा यो कार्यक्रम लागू गर्न लागिएको अगुवा कृषक आलेले जानकारी दिए। यस ठाउँबाट वार्षिक करिब रु डेढ करोडको खसी बिक्री हुने गरेको छ। खसी बिक्रीबाट एक जना कृषकले कम्तीमा रु तीन लाख र बढीमा रु १३/१४ लाख आम्दानी गर्ने गरेका छन्।

यहाँका कृषकको आम्दानीको स्रोत नै बाख्रापालन बनेको छ । बाख्रापालनमा युवादेखि वृद्धसम्मको आकर्षण बढेको छ । युवा कृषक आलेले ७० वटा बाख्रा पालेका छन्। उनले बाख्रापालनबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्छन्। विसं २०६८ मा सब ओभरसियरको पढाइ उत्तीर्ण गर्नेबित्तिकै उनले व्यावसायिकरुपमा बाख्रापालनमा शुरु गरेका हुन्। बुबाले परम्परागतरुपमा बाख्रापालन गर्दै आएकामा उनले त्यसलाई व्यावसायिक रुप दिएका हुन्।

सोही ठाउँका श्रीमाया आलेले ४५ वटा बाख्रा पालेकी छन् । उनले वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दछिन्। सोही ठाउँकै खिमबहादुर थापाले ४० वटा बाख्रा पालेर वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्छन्। उनीहरु मात्रै होइन यस ठाउँका सबैले बाख्रापालनबाटै मनग्य आम्दानी गर्दै आएका छन्। यहाँका ६० घरधुरी बाख्रापालनमा आबद्ध छन् । दिलमाया थापा, लुमाया थापा, देवी मोक्तान आले, नरमाया थापा, खेमबहादुर थापा, टकबहादुर थापालगायत व्यावसायिक बाख्रापालनमा आबद्ध छन्।

परम्परागतरुपमा मात्रै बाख्रापालन गर्दै आएका यहाँका कृषकले विसं २०७१ देखि व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका छन्। यहाँका कृषकले घटीमा १० र बढीमा ७० बाख्रा पालिरहेका छन्।

बोयर बाख्राको माग धान्न नसकेकाले म्याग्दीमा निजी क्षेत्रलाई बाह्य स्रोत केन्द्र

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको डाँडाखानीमा बोयर जातको बाख्राको बाह्य स्रोत केन्द्र स्थापना भएको छ। राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरासँगको समन्वयमा श्रीस पशुपालन तथा बहुउद्देश्यीय सो केन्द्र स्थापना गरिएको हो।

फार्मका सञ्चालक धनबहादुर श्रीसले बाख्रामा नश्ल सुधारका लागि अस्ट्रेलियाबाट ल्याएर बोयर बाख्राको पाठापाठी उत्पादन शुरु गरेका छन्। “पशु प्रजनन् कार्यालयले यो फार्मलाई शतप्रतिशत शुद्ध बोयर बाख्राको स्रोत केन्द्रको मान्यता दिएको छ”, उनले भने, “कार्यालयले उत्पादन गर्ने बोयर बाख्राको माग धान्न नसकेकाले निजी क्षेत्रलाई बाह्य स्रोत केन्द्र बनाएको हो।” छिटो बढ्ने र धेरै तौल हुने विशेषता भएको बोयर जातको एउटै बोका रु दुई लाख ५० हजार मूल्यमा बिक्री हुने उनले बताए। अस्ट्रेलियाबाट दुई वर्षअघि चार वटा बाख्रा ल्याएका श्रीसको फार्ममा अहिले सबै ३० वटा ती जातका बोका र बाख्रा छन् ।

पछिल्लो एक वर्षयता प्रजनन्का लागि ३० वटा बोका र बाख्रा देशका विभिन्न ठाउँका व्यावसायिक फार्म र कृषक समूहलाई बिक्री गरेका छन्। अनलाइनका माध्यमबाट गर्भमै कृषकले अग्रिम पैसा दिएर बोका बुक गरेका उनले बताउनुभयो। म्याग्दी, बागलुङ, पर्वतका साथै कास्की, धनकुटालगायतका जिल्लाका कृषक बोयर बाख्रा खरिदका लागि फार्ममै पुग्ने गरेका छन्।

उनले भने,

“फार्ममा भएका बोका र बाख्रा सामाजिक सञ्जाल फेसबुकमा राखेपछि कृषकले जुन मन पर्छ त्यही रोजेर बुक गर्छन्”

“प्रजनन्योग्य भएपछि गाडी ल्याएर घरमै आउँछन् ।” विसं २०६८ मा विदेशबाट फर्किएपछि स्थानीय जातका बाख्रापालन शुरु गरेका उनले कृषक समूहको भ्रमणमा जाने क्रममा चितवनमा बोयर बाख्रा देखेपछि सो जातको बाख्रापालनमा प्रेरित भएका हुन्।

बैंकबाट रु दुई लाख ऋण लिएर शुरु गरेको उहाँको फार्ममा अहिले लगानी रु ७० लाख पुगेको छ । उनलाई बाख्रापालनका लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले प्राविधिक सहयोग गरेको छ। बाख्राको आहारा आपूर्तिका लागि ६० रोपनी पाखोबारीमा भूइँ र डाले घाँस खेती गरेका छन्।

दक्षिण अफ्रिकामा पाइने बोयर जातका बाख्रा र बोका हेर्दा बलियो र खदिलो मासु भएको हुन्छ । प्राय सेता वा खैरो वा दुवै रङ्ग मिसिएको बोयर बाख्राले धेरै थरि रोग प्रतिरोध गर्न सक्षम हुने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुशुमले बताए। बोयरको पाठापाठी एकदमै छिटो बढ्ने यसको मुख्य विशेषता हो । ९० दिनमै ३६ किलोग्रामसम्म तौल हुन्छ । दैनिक २०० देखि ३०० ग्रामका दरले तौल बढ्छ। बयस्क बोयर बाख्रा तथा बोकाको तौल १५० किलोग्राम हुन्छ।

बोयर खसी, बोका र मासुका लागि विश्वमै प्रख्यात छ । नेपालमा कृषकले स्थानीय खरी, बारबरी र जमुनापारी जातका बाख्रासँग बोयरलाई क्रस गराउन थालेकाले यसको बोकाको माग उच्च छ । एकपटकमा सामान्यतया दुई वटा पाठापाठी जन्माउने बोयर बाख्रा दुई वर्षमा तीन पटक सम्म ब्याउँछ । अन्य जातका बाख्रा जस्तै घरमा घाँस र दाना खुवाएर बोयर पाल्न सकिने तोरीपानीको धौलागिरि बाख्रा फार्मका सञ्चालक आनन्द रिजालले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width