एकैदिन रु १६ लाखको बोका बिक्री

रासस
जेठ २६, २०७७
SG_Myagdi_6140

दमौली, २६ जेठ । तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीका कृषकले एकैदिनमा रु १६ लाख बराबरको बोयर बोका बिक्री गरेका छन् । व्यावसायिकरुपमा बाख्रापालन गरिरहेका यहाँका कृषकले आइतबार सो मूल्य बराबरको बोयर बोका बिक्री गरेका हुन् ।

पाथर्दी बोयर स्रोत विकास केन्द्रमा आबद्ध कृषकले २६ वटा बोयर बोका बिक्री गरेको अगुवा युवा कृषक शिवकुमार आलेले जानकारी दिए । पाथर्दीका १३ जना कृषकले पालेका बोयर बोका प्रतिकिलो रु एक हजार ४१० का दरले बिक्री गरिएको उनले बताए । उनका अनुसार बिक्री गरिएका बोका २६ किलोदेखि ४१ किलोसम्मका छन् ।

“बन्दाबन्दीकै बीचमा पनि बोयर बोका बिक्री गर्न सफल भएका छौँ”, उनले भने । “बाख्रापालन नै यहाँका कृषकको मुख्य आम्दानीको स्रोत हो ।” गरिबीको रेखामुनि रहेका यहाँका कृषक बाख्रापालनले ऋणमुक्त हुने प्रयासमा रहेको उनले बताए । “एकैदिन रु १६ लाखको कारोवार हुँदा यहाँका कृषकलाई ठूलो उत्साह मिलेको छ”, उनले भने ।

यहाँका कृषकले जेठ महिनाको पहिलो साता पनि रु पाँच लाख बराबरको खसी बिक्री गरेका थिए । त्यसक्रममा पोखरास्थित खसी बजारका व्यापारीले गाउँमै आएर खसी किनेर लगेका थिए । “यहाँको खसीको मासु गुणस्तरीय भएका कारण व्यापारी खसी किन्न गाउँसम्मै आउँछन्,” उनले भने “बन्दाबन्दीका कारण खसी बिक्रीमा समस्या भइरहेको थियो तर अब बन्दाबन्दीकै बीचमा पनि खसी बिक्री हुन थालेको छ ।”

बोयर जातको खसी उत्पादनका लागि यहाँ पाथर्दी बोयर बाख्रा स्रोत विकास केन्द्र स्थापना गरिएको छ । केन्द्रमा अष्ट्रेलियाबाट तीन वटा बोयर जातको व्याड बोका खरिद गरेर ल्याइएको छ । कृषकले पालेका खसीलाई बोका लगाउन केन्द्रले रु ५०० लिने गरेको केन्द्रका अध्यक्ष खेमबहादुर थापाले जानकारी दिए ।

पाथर्दीमा उन्नत जातको बाख्रा उत्पादन केन्द्र बनाउने गरी खरी बाख्रामा नश्ल सुधार कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा यो कार्यक्रम लागू गर्न लागिएको अगुवा कृषक आलेले जानकारी दिए । यस ठाउँबाट वार्षिक करिब रु डेढ करोडको खसी बिक्री हुने गरेको छ । खसी बिक्रीबाट एक जना कृषकले कम्तीमा रु तीन लाख र बढीमा रु १३/१४ लाख आम्दानी गर्ने गरेका छन् ।

यहाँका कृषकको आम्दानीको स्रोत नै बाख्रापालन बनेको छ । बाख्रापालनमा युवादेखि वृद्धसम्मको आकर्षण बढेको छ । युवा कृषक आलेले ७० वटा बाख्रा पाल्नुभएको छ । उनले बाख्रापालनबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्छन । विसं २०६८ मा सब ओभरसियरको पढाइ उत्तीर्ण गर्नेबित्तिकै उनले व्यावसायिकरुपमा बाख्रापालनमा शुरु गरेका हुन् । बुबाले परम्परागतरुपमा बाख्रापालन गर्दै आएकामा उनले त्यसलाई व्यावसायिक रुप दिएका थिए ।

सोही ठाउँका श्रीमाया आलेले ४५ वटा बाख्रा पालेका छन् । उनले वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । सोही ठाउँकै खिमबहादुर थापाले ४० वटा बाख्रा पालेर वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्छन । उनीहरु मात्रै होइन यस ठाउँका सबैले बाख्रापालनबाटै मनग्य आम्दानी गर्दै आएका छन् । यहाँका ६० घरधुरी बाख्रापालनमा आबद्ध छन् । दिलमाया थापा, लुमाया थापा, देवी मोक्तान आले, नरमाया थापा, खेमबहादुर थापा, टकबहादुर थापालगायत व्यावसायिक बाख्रापालनमा आबद्ध छन् । परम्परागतरुपमा मात्रै बाख्रापालन गर्दै आएका यहाँका कृषकले विसं २०७१ देखि व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका छन् । यहाँका कृषकले घटीमा १० र बढीमा ७० बाख्रा पालिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width