घरवहाल छुटको विशेष व्यवस्था गर्न माग

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७७

पोखरा, २६ जेठ । पोखरा चेम्बर अफ कमर्स कास्कीले कोरोना भाइरसको सिर्जित असहज अवस्थामा सरकारी, अर्ध सरकारी निकाय, संस्था, स्थानीय सरकार, विद्यालय तथा हस्पिटल आदिका घर जग्गा वहाल लिने दिनेका हकमा सम्बन्धित निकायले वहालमा विशेष छुटको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

निजी व्यक्तिको घर एवं जग्गाहरुमा उद्योग व्यवसाय सञ्चालन गर्नेको हकमा चेम्बरले घरधनीको तर्फबाट आर्थिक अवस्था समेत बिचार गरी ५० देखि ७५ प्रतिशतसम्म वहाल छुटको व्यवस्था गर्न अपिल गरेको छ । चेम्बरका बस्तुगत तर्फका उपाध्यक्ष तथा कोरोना भाइरसको जोखिम नियन्त्रण एवं न्यूनीकरण समन्वय समितिका संयोजक यमनाथ पौडेलले सोमबार प्रेस विज्ञप्ति प्रकासित गरी डेरा कोठा वहालमा लिने र आवास प्रयोजन गर्नेको हकमा जागिर तलव पाई रहेकालाई र अत्यआवश्यक सेवा अन्तर्गत व्यवसायीलाई यथावत रुपमा भाडा भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरेका छन । विज्ञप्तिमा स्वतस्फुर्त रुपमा घरधनीले भाडा छुट गरेको अवस्थालाई स्वागतयोग्य मानिने उल्लेख छ ।

विज्ञप्तिमा लकडाउनको अवधीमा भाडा छुट गर्ने घरधनीलाई सरकारको तर्फबाट घरभाडाकर,विद्युत तथा खानेपानी महसुलमा छुटको व्यवस्था मिलाउन आग्रह गरिएको छ । ज्यालामजदुरी गर्ने विपन्न वर्गका लागि सरकारी राहातको प्याकेज भित्र परेका परिवारलाई डेरामा पुर्ण छुटको व्यवस्था गर्न अपिल गरिएको छ । कोरोना भाइरसको पिडादायी अवस्थामा केही घरधनी महानुभावले वहालमा बस्ने उद्योगी व्यवसायीलाई भाडा भुक्तानी गर्न दवाव दिने, भाडा नदिएको भन्दै घर सटर कोठा खाली गर्न दबाव दिएको चेम्बरमा गुनासो आएको उल्लेख गर्दै विज्ञप्तिमा विषम परिस्थितिमा घरवाहाल दिने व्यक्ति निकायले कुनै पनि घरवहालवालालाई कुनै पनि वहानमा निकाला गर्न नपाउने उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width