संक्रमणबाट मृत्यु भएको १४ घण्टासम्म पनि शव व्यवस्थापन हुन सकेन

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७७
is

आइसोलेसन वार्ड, फाइल फाेटाे ।

पोखरा, २६ जेठ । पोखरामा उपचारक्रममा ज्यान गुमाएका कोरोना संक्रमित एक पुरुषको शव १४ घण्टा बित्दासम्म व्यवस्थापन हुन सकेको छैन ।

स्याङ्जा वालिङ वडा–३ घर भइ ४ दिनदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका ५८ वर्षीय पुरुषको आइतबार राति ११ बजेर २५ मिनेटमा मृत्यु भएको थियो । उनको मृत्युको लामो समय बित्दासमेत शव व्यवस्थापन हुन नसकेको हो ।

कोरोना संक्रमित व्यक्तिको मृत्युपछि शव व्यवस्थापन संयोजक सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी हुने कार्यविधिमा उल्लेख छ । यसबारे कास्की प्रजिअ ज्ञानप्रसाद ढकालले पोखराको हरियोखर्क नजिक शव गाडिने जनाए पनि अझसम्म सो प्रक्रिया अघि बढेको छैन । उनका अनुसार शव व्यवस्थापन जिम्मा नेपाली सेनाको फूलबारी व्यारेक भगवती दललाई दिइएको छ भने लोकेसन खोज्ने काम पोखरा महानगरको हो ।

यस सम्बन्धमा महानगरका सूचना अधिकारी भरतराज पौडेलले दुःिखत स्वरमा भने, ‘जहाँ गए’नि विरोध गर्छन् । एकछिन पख्नोस् है, हुँदैछ ।’ प्रजिअले भनेअनुसार हरियो खर्क नजिक गाडिने भनिएपछि स्थानीयको विरोधपछि खाल्डो खन्न गएको महानगरको जेसीबी पनि फर्किएको छ । पोखरा महानगरले लोकेसन पहिचानको टुंगो लगाउन नसक्नु र स्थानीयको विरोध हुँदा कहाँ लगेर गाड्ने भन्नेबारे अन्यौल सिर्जना भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले शव व्यवस्थापन कार्य स्थानीय निकायको समन्वयमा जिल्ला प्रशासनले गर्ने हुँदा यसबारेमा आफूलाई थाहा नहुने स्पष्ट पारे । यस्तै, फूलबारी व्यारेकले भने आफ्नो टिम तयार रहेको र फिल्ड टुंगो लागेपछि सेनाले समन्वय गर्ने जनाएको छ । भारतबाट वालिङ फर्केका ५८ वर्षीय ती पुरुषलाई वालिङमा क्वारेन्टाइनमा राखिएकोमा स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्टै २२ जेठमा पोखरामा उपचारार्थ ल्याइएको थियो । उनकी छोरीसमेत पोखरामा नर्स रहेकोले छोरीको जोडबलमा पोखरा ल्याइएको पारिवारिक सूत्रले जनाएको छ ।

सुरुवातमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रि–आइसोलेसन बार्डमा राखिएकोमा २५ जेठमा कोरोना पुष्टि भएपछि आइसोलेसनमा सारिएको थियो ।जटिल समस्याले आइतबार राति निधन भएको हो । उनको उपचारक्रममा कोरोना पुष्टि नहुञ्जेलसम्म आमा र छोरी पनि प्रत्यक्ष सम्पर्कमा थिए । मृत्यु भएका ती पुरुषमा किड्नी, मधुमेह लगायत रोगबाट ग्रसित रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ ।गण्डकीमा कोरोनाबाट मृत्यु हुने यो पहिलो घटना हो । योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु १४ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width