एम्बुलेन्सले बाटोमै शव छोडेछ – प्रहरी

रासस
जेठ २६, २०७७
unnamed

सुर्खेत, २६ जेठ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो ।

स्थानीयवासीको सूचना पाउनेबित्तिकै प्रहरी त्यहाँ पुग्यो । कम्बलले ढाकेको शव त्यहाँ कसरी आइपुग्यो ? कसले छोड्यो ? कहाँ लगिँदै थियो र कस्तो खालको बिरामी थियो ? भन्ने कुरा प्रहरीले खोजी गर्यो । प्रहरीले खोजी गर्दा मृतकसँगै भारतबाट आएका दुईजनालाई भेट्यो । उनीहरु गुराँस गाउँपालिका–२ दैलेखका रहेछन् ।

“मृतक गुराँस गाउँपालिका–२ दैलेखका ४२ वर्षीय लखन नेपाली रहेछन्”, जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले भने । “मृतकसँगै आएका दुईजनाका अनुसार नेपाली भारतको गढवालमा गाडीबाट लड्दा घाइते भएका रहेछन् ।” मृतकका आफन्तले घाइते उनलाई नेपालगञ्जसम्म बसमा ल्याएको र त्यहाँदेखि एम्बुलेन्स चढाएर सुर्खेत ल्याएको बुझिएको उनले बताए ।

राति कतिबजेतिर सुर्खेत पुर्याएर एम्बुलेन्सले छोड्यो र फिर्ता भयो त्यो स्पष्ट जानकारी नभएको प्रहरी निरीक्षक रायमाझीले बताए । उनका अनुसार मृतकको विषयमा गुराँस गाउँपालिकाका जनप्रतिनिधिलाई खबर गरिएको छ । नेपालीको शवलाई शववाहन व्यवस्था गरेर दैलेख पठाउन थालिएको उनको भनाइ छ ।

यता स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले मृतक नेपालीका बारेमा स्पष्ट जानकारी नभएको बताउँदै घटनाको सम्बन्धमा बुझ्ने र उनीसँग भारतबाट आएका दुईजनाका बारेमा बुझेर काम कारवाही अगाडि बढाउने जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width